पप्पु कन्ट्रक्सन प्रा.लि.का सञ्चालक सुमित रौनियारलाई पक्राउ पूर्जी जारी : JCNEPAL MEDIA

जेष्ठ ०७,२०८३ / जेसी नेपाल संवाददाता

पर्सा : जिल्ला अदालतले पप्पु कन्ट्रक्सन प्रा.लि.का सञ्चालक सुमित रौनियारलाई पक्राउ गरी उपस्थित गराउन प्रहरीको नाममा पक्राउ पुर्जी जारी गरेको छ।

विगो सम्बन्धी मुद्दामा दोषी ठहर भई दुई वर्ष कैदको सजाय तोकिएका वीरगन्ज महानगरपालिका–१४ निवासी रौनियारलाई पक्राउ गर्न अदालतले गत वैशाख ३१ गते आदेश दिएको हो। सघन सहरी विकास कार्यालय अन्तर्गत वीरगन्ज महानगरपालिकामा सडक तथा नाला निर्माणका लागि स्वच्छन्द, पप्पु र युनाइटेड जेभीले संयुक्त रूपमा ठेक्का लिएका थिए।

सोही निर्माणका क्रममा प्रमोद निर्माण सेवाका सञ्चालक मनोज पटेलसँग गिट्टी, बालुवा लगायतका निर्माण सामग्री लिएर भुक्तानी नगरेपछि पटेलले अदालतमा विगो मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा सुनुवाइ गर्दै पर्सा जिल्ला अदालतले २०८० कात्तिक २० गते रौनियारलाई १ करोड १५ लाख ६५ हजार रुपैयाँ भुक्तानी गर्न आदेश दिएको थियो।

फैसलामा विगो बराबरको रकम वादीलाई भुक्तानी नगरे रौनियारलाई दुई वर्ष कैद सजाय हुने समेत उल्लेख थियो। जिल्ला अदालतको उक्त फैसला विरुद्ध रौनियारले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा पुनरावेदन गरे पनि उच्च अदालतले जिल्लाकै फैसलालाई सदर गरिदिएको थियो। अदालतको आदेश जारी भएको एक साता बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय पर्साले रौनियारलाई पक्राउ गर्न नसकेको भन्दै निर्माण सेवाका सञ्चालक पटेलले गुनासो गरेका छन्।

रौनियार राजनीतिक तथा आर्थिक रूपमा उच्च पहुँच भएका व्यक्ति भएकाले प्रहरीले दबाबमा परेर पक्राउ गर्न आलटाल गरेको हुन सक्ने आशंका उनले व्यक्त गरे।

प्रकाशित : जेष्ठ ०७,२०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA