एमबीबीएस पास तर लाइसेन्समा फेल ,चिकित्सा शिक्षाको गुणस्तरमाथि गम्भीर प्रश्न : JCNEPALMEDIA

जेष्ठ २१,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : विदेशबाट डाक्टर बनेर फर्किएकामध्ये अधिकांश असफल भएका छन । चिकित्सा शिक्षाको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ । नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको पछिल्लो नतिजाले नेपालको चिकित्सा शिक्षा क्षेत्रमै गम्भीर बहस सिर्जना गरेको छ।

लाखौं रुपैयाँ खर्च गरेर विदेशमा एमबीबीएस अध्ययन पूरा गरेका सयौं नेपाली विद्यार्थी लाइसेन्स परीक्षामा असफल भएपछि विदेशी मेडिकल शिक्षाको गुणस्तर, भर्ना प्रणाली र अध्ययन पद्धतिमाथि नयाँ प्रश्न उठेको छ। यस वर्षको लाइसेन्स परीक्षामा कुल १ हजार ८ सय ३७ जना सहभागी भएकामध्ये १ हजार १ सय ६२ जना अर्थात् ६३ दशमलव ५० प्रतिशत मात्र उत्तीर्ण भएका छन्। तर नतिजाको सबैभन्दा चासोको विषय भने स्वदेश र विदेशमा अध्ययन गरेका विद्यार्थीबीचको ठूलो अन्तर बनेको छ।

नेपालका मेडिकल कलेजबाट एमबीबीएस पूरा गरेका विद्यार्थीहरूको सफलता दर उल्लेखनीय देखिएको छ भने विदेशबाट डाक्टर बनेर फर्किएका अधिकांश विद्यार्थी लाइसेन्स परीक्षाको ‘फलामे ढोका’ पार गर्न असफल भएका छन्। नेपालका विभिन्न मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरेका १ हजार २ सय ५४ विद्यार्थीमध्ये ९ सय ६३ जना अर्थात् करिब ७६ प्रतिशत उत्तीर्ण भएका छन्। फेल हुनेको संख्या २ सय ८७ अर्थात् २४ प्रतिशत मात्र रहेको छ। तर विदेशका विभिन्न मुलुकबाट एमबीबीएस गरेर नेपाल फर्किएका ५ सय ७६ जना परीक्षार्थीमध्ये केवल १ सय ९९ जना मात्र पास भएका छन्।

अर्थात् झण्डै दुई तिहाइभन्दा बढी विद्यार्थी असफल भएका छन्। विशेषगरी चीन, बंगलादेश र फिलिपिन्सबाट अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीहरूको नतिजा चिन्ताजनक देखिएको छ। चीनबाट एमबीबीएस पूरा गरेर आएका १ सय ३३ जनामध्ये केवल २० जना मात्र उत्तीर्ण भएका छन्। यो कुल सहभागीको १५ प्रतिशत मात्रै हो। अर्थात् ८५ प्रतिशत विद्यार्थी लाइसेन्स परीक्षामा असफल भएका छन्। भारतबाट अध्ययन गरेर आएका २६ जनामध्ये ११ जना अर्थात् ४२ प्रतिशत विद्यार्थी पास भएका छन्। भारतको तुलनामा चीनबाट अध्ययन गरेर फर्किएका विद्यार्थीहरूको नतिजा निकै कमजोर देखिएको छ।

सबैभन्दा धेरै विद्यार्थी सहभागी भएको बंगलादेशको नतिजा पनि सन्तोषजनक देखिएन। बंगलादेशबाट एमबीबीएस पूरा गरेर आएका ३ सय ६७ जनामध्ये २ सय १६ जना अर्थात् ५९ प्रतिशत विद्यार्थी फेल भएका छन्। फिलिपिन्सबाट अध्ययन गरेर आएका ४२ जनामध्ये २९ जना अर्थात् ७२ प्रतिशत असफल भएका छन्। पाकिस्तानबाट अध्ययन गरेका ६ जनामध्ये ४ जना उत्तीर्ण भएका छन् भने साउदी अरबबाट अध्ययन गरेर आएका एक विद्यार्थी सफल भएका छन्। इजिप्ट, रुस, काजकिस्तान तथा युक्रेनबाट अध्ययन गरेर आएका केही विद्यार्थी सहभागी भए पनि कोही पनि उत्तीर्ण हुन नसकेको तथ्यांकले देखाएको छ।

चिकित्सा शिक्षा क्षेत्रका जानकारहरूका अनुसार यो नतिजाले केवल विद्यार्थीको व्यक्तिगत क्षमता मात्र होइन, अध्ययन गरेका संस्थाको गुणस्तर, शिक्षण पद्धति, क्लिनिकल अभ्यास तथा मूल्यांकन प्रणालीबारे पनि प्रश्न उठाउँछ। विशेषज्ञहरूका अनुसार विदेशका कतिपय मेडिकल कलेजहरूमा भर्ना प्रक्रिया सहज हुने, प्रवेश प्रतिस्पर्धा कम हुने तथा क्लिनिकल एक्सपोजर पर्याप्त नहुने समस्या देखिन्छ। कतिपय विद्यार्थी भाषा समस्याका कारण पनि अध्ययन अवधिभर प्रभावकारी रूपमा सिकाइ प्रक्रियामा सहभागी हुन नसक्ने अवस्था रहने गरेको बताइन्छ। विशेषगरी चीन र केही अन्य मुलुकमा अंग्रेजी माध्यममा पढाइ हुने भनिए पनि व्यवहारमा स्थानीय भाषाको प्रयोग व्यापक हुने भएकाले विदेशी विद्यार्थीहरूलाई अस्पताल तथा क्लिनिकल अभ्यासमा कठिनाइ हुने गरेको चिकित्साशास्त्रका अध्यापकहरू बताउँछन्।

यता चिकित्सा शिक्षामा कार्यरत विज्ञहरू भने नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा गुणस्तर परीक्षणको महत्वपूर्ण आधार भएको बताउँछन्। एमबीबीएस वा बीडीएसको डिग्री प्राप्त गरे पनि लाइसेन्स परीक्षा पास नगरेसम्म चिकित्सकीय अभ्यास गर्न नपाइने व्यवस्था भएकाले यो परीक्षा बिरामीको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको मानिन्छ। चिकित्सक उत्पादन गर्ने संस्थाले दिएको डिग्री र वास्तविक व्यावसायिक दक्षताबीचको अन्तर मापन गर्ने प्रमुख माध्यम नै लाइसेन्स परीक्षा भएको विज्ञहरूको धारणा छ। दन्त चिकित्सातर्फको नतिजा भने तुलनात्मक रूपमा राम्रो देखिएको छ। नेपालका मेडिकल कलेजबाट बीडीएस अध्ययन पूरा गरेका ४ सय जनामध्ये ३ सय ४३ जना अर्थात् ८५ प्रतिशत उत्तीर्ण भएका छन् भने ५७ जना फेल भएका छन्। विदेशबाट बीडीएस अध्ययन गरेर आएका ३४ जनामध्ये केवल १० जना मात्र पास भएका छन्। २३ जना फेल भएका छन् भने एक जना अनुपस्थित रहेका छन्। पछिल्ला केही वर्षदेखि विदेशबाट एमबीबीएस गरेर फर्किएका नेपाली विद्यार्थीहरूको लाइसेन्स परीक्षा नतिजा कमजोर देखिँदै आएको छ।

हरेक वर्ष सार्वजनिक हुने नतिजाले विदेशी मेडिकल शिक्षाको गुणस्तर, अध्ययन वातावरण र नियमन प्रणालीमाथि प्रश्न उठाउने गरेको छ। विशेषज्ञहरूका अनुसार विदेशमा अध्ययन गर्न जाने विद्यार्थी तथा अभिभावकले केवल कम शुल्क, सहज भर्ना वा एजेन्टको प्रचारका आधारमा निर्णय गर्नु खतरनाक हुन सक्छ। अध्ययन गर्न लागिएको विश्वविद्यालयको मान्यता, अस्पतालको क्षमता, क्लिनिकल अभ्यासको अवसर तथा विगतका लाइसेन्स परीक्षा नतिजालाई समेत आधार बनाएर मात्र निर्णय गर्नुपर्ने उनीहरूको सुझाव छ।

नेपाल मेडिकल काउन्सिलको पछिल्लो नतिजाले एउटा स्पष्ट सन्देश दिएको छ—डिग्री मात्रै पर्याप्त छैन, दक्षता पनि उत्तिकै आवश्यक छ। लाखौं रुपैयाँ खर्च गरेर विदेशी विश्वविद्यालयबाट एमबीबीएसको प्रमाणपत्र ल्याए पनि नेपाली मापदण्डअनुसारको ज्ञान र सीप नभएसम्म चिकित्सकीय अभ्यासको ढोका खुल्दैन। यही कारण पछिल्लो नतिजाले केवल विद्यार्थीको सफल-असफलताको कथा मात्र नभई नेपालको चिकित्सा शिक्षा, विदेशी मेडिकल कलेजको गुणस्तर र भविष्यका चिकित्सकको क्षमता सम्बन्धी गम्भीर बहसलाई फेरि एकपटक राष्ट्रिय मुद्दाको रूपमा अघि ल्याएको छ।

प्रकाशित : जेष्ठ २१, २०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA

धनुषाका स्थानीय तहमा आम्दानीभन्दा पदाधिकारीको सेवासुविधामा बढी खर्च,महालेखापरीक्षकको कार्यालयकाे विवरण : JCNEPALMEDIA

टिकटकर तुलसा अधिकारीलाई हत्कडीसहित पुर्याए अदालत : JCNEPALMEDIA

सीमाबाट भित्रियो लाखौंको तस्करी सामान ,तस्करहरू फरार : कैलाली JCNEPALMEDIA

सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा आगलागी, केही गाडी जले : JCNEPALMEDIA