भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

जेष्ठ २४,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : भारतमा घरेलु प्रयोगको एलपी ग्यास सिलिन्डरको मूल्य प्रति सिलिन्डर २९ भारतीय रुपैयाँले वृद्धि भएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर पर्न सक्ने संकेत देखिएको छ।

आइतबारदेखि लागू भएको नयाँ मूल्य अनुसार भारतको राजधानी नयाँदिल्लीमा १४.२ किलोग्राम क्षमताको घरेलु ग्यास सिलिन्डरको मूल्य ९१३ भारतीय रुपैयाँबाट बढेर ९४२ भारतीय रुपैयाँ पुगेको छ। यसअघि गत मार्च ७ मा पनि अन्तर्राष्ट्रिय ऊर्जा बजारको उतारचढाव र आपूर्ति शृंखलामा आएको अवरोधका कारण भारतमा प्रति सिलिन्डर ५० रुपैयाँले मूल्य बढाइएको थियो।

नेपालले आफ्नो सम्पूर्ण एलपी ग्यास भारतबाटै आयात गर्ने भएकाले त्यहाँ भएको यो मूल्यवृद्धिले नेपाली बजारमा समेत मूल्य समायोजनको दबाब बढाएको हो। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा मासिक रूपमा ग्यासको मूल्य समायोजन गर्दै आएको छ।

भारतमा मूल्य बढेसँगै आगामी मूल्यसूचीमा नेपालले आयात गर्ने ग्यासको लागत पनि बढ्न सक्ने र स्वचालित रूपमा नेपाली बजारमा मूल्य बढ्न सक्ने सम्भावना बलियो बनेको छ। यद्यपि, नेपालमा मूल्य बढ्ने वा नबढ्ने विषय भने आईओसीले पठाउने नयाँ मूल्यसूची, ढुवानी लागत, अमेरिकी डलरको विनिमय दर र निगमको समग्र नाफा-नोक्सानको अवस्थामा निर्भर रहनेछ। ऊर्जा विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य उच्च रहँदा नेपाल आयल निगममाथि वित्तीय भार थपिनेछ र निगमले घाटा व्यवस्थापन गर्न नसकेमा उपभोक्ताले मूल्यवृद्धिको मार भोग्नुपर्ने अवस्था आउन सक्छ।

यसैबीच भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी संयुक्त सचिव सुजाता शर्माले सरकारले घरेलु एलपी ग्यासको पर्याप्त आपूर्ति सुनिश्चित गर्न आन्तरिक उत्पादन वृद्धि र आयात विस्तार गरिरहेको जानकारी दिएकी छन्। उनका अनुसार सरकारले अनुदान दिएका कारण अझै पनि प्रति सिलिन्डर करिब ७०० भारतीय रुपैयाँ बराबरको घाटा (अन्डर रिकभरी) कायम छ।

पछिल्लो समय व्यावसायिक तथा औद्योगिक क्षेत्रमा ग्यासको खपत घट्नु, बुकिङ चक्रमा सुधार आउनु र ‘डेलिभरी अथेन्टिकेसन कोड (डीएसी)’ प्रणाली प्रभावकारी रूपमा लागू हुनुले माग व्यवस्थापनमा सहयोग पुगेको उनको भनाइ छ। नेपालमा खाना पकाउने प्रमुख इन्धनका रूपमा एलपी ग्यास प्रयोग हुने भएकाले भारतको यो मूल्य फेरबदललाई नेपाली उपभोक्ता र आयल निगम दुवैले चासोका साथ हेरिरहेका छन्।

प्रकाशित : जेष्ठ २४, २०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA