नेदरल्यान्ड्सबाट हुलाकमार्फत पोखरा आइपुग्यो एलएसडी, भारतीय नागरिक पक्राउ; ब्राउन सुगरसहित एक महिला पनि नियन्त्रणमा : JCNEPALMEDIA

जेष्ठ २८,२०८३ / जेसी नेपाल संवाददाता

अन्तर्राष्ट्रिय हुलाक सेवामार्फत नेपालमा नयाँ प्रकारका लागूऔषध भित्रिन थालेको तथ्य सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले नेदरल्यान्ड्सबाट पोखरामा पठाइएको हुलाक चिठ्ठीभित्र लुकाइएको एलएसडी (LSD) बरामद गरेको छ।

यससँगै ब्राउन सुगरसहित एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ। बिहीबार आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कास्की प्रहरीले जेठ महिनाभर भएका प्रमुख अपराध अनुसन्धान तथा कारबाही सार्वजनिक गरेको हो। सो क्रममा एलएसडी बरामदको घटना विशेष रूपमा सार्वजनिक गरिएको थियो। प्रहरीका अनुसार केही दिनदेखि पोखराको लेकसाइड क्षेत्रमा भारतीय नागरिकहरूको गतिविधि बढेपछि निगरानी कडा पारिएको थियो। सोही क्रममा जेठ ३० गते पोखरा–७ शहीदचोकस्थित हुलाक कार्यालय आसपास भारतका २८ वर्षीय आयुस अजित शंकास्पद अवस्थामा भेटिएका थिए। उनी नेदरल्यान्ड्सबाट आएको चिठ्ठीबारे सोधपुछ गरिरहेका थिए। उक्त चिठ्ठी ‘होटल गोक्यो लेक, लेकसाइड–६, पोखरा’ को नाममा आएको भए पनि होटल व्यवस्थापनले आफूहरूको नभएको बताएपछि प्रहरीले शंका गरी हुलाक कार्यालयका कर्मचारी, जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा चिठ्ठी खोलेर जाँच गरेको थियो।

जाँचका क्रममा एलएसडी (Lysergic Acid Diethylamide) जस्तो देखिने करिब एक हजार थान स्टिकर फेला परेको प्रहरीले जनाएको छ। घटनापछि थप अनुसन्धान गर्दा आयुस अजित करिब एक साताअघि पोखरा आएर पोखरा–१८ सेदीस्थित होली बेसिल गेष्ट हाउसमा बसेको खुलेको छ। प्रहरीले उनको कोठा खानतलासी गर्दा ७ लाख ४० हजार रुपैयाँ नगद र एक थान मोबाइल फोन बरामद गरेको जनाएको छ। उनीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस्तै, लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा रौतहट घर भई हाल पोखरा–२९ तालचोक बस्दै आएकी २२ वर्षीया रुबिना खातुन पक्राउ परेकी छन्। उनको डेरा तथा शरीर खानतलासी गर्दा ३१.२० ग्राम ब्राउन सुगर, डिजिटल तराजु, मोबाइल फोन तथा ११ लाख ४८ हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ। यसैगरी पोखरा–५ पर्स्याङका २९ वर्षीय मनिष शाही ठकुरीको कोठाबाट ३८ हजार ३४० ट्याब्लेट टापेन्टाडोल र १ लाख ८९ हजार ५०० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जेठ महिनामा मात्रै लागूऔषध सम्बन्धी १४ वटा मुद्दा दर्ता भएका छन्।

सो अवधिमा २० जना पक्राउ परेका छन्। साथै ८ किलो ४५० ग्राम गाँजा, १ हजार थान एलएसडी, ३९ हजार ८९९ ट्याब्लेट ट्रामाडोल तथा टापेन्टाडोल र ५ ग्राम ७५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्जालमार्फत नयाँ–नयाँ प्रकारका लागूऔषध नेपाल भित्र्याउने प्रयास बढ्दै गएको छ। यसलाई नियन्त्रण गर्न निगरानी तथा अनुसन्धान थप कडा पारिएको प्रहरीले जनाएको छ। खपौदीमा भएको चोरी घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट करिब ५ तोला सुनका गरगहना, मोबाइल, घडी, पर्स तथा अन्य सामान बरामद गरिएको प्रहरीले जनाएको छ। सो घटनामा चोरीको सुन खरिद गर्ने एक सुनचाँदी व्यवसायीसमेत पक्राउ परेका छन्। त्यस्तै पोखरा न्यूरोड क्षेत्रमा भएको अर्को चोरी घटनामा ५ जनालाई पक्राउ गरिएको छ।

उनीहरूबाट नगद तथा सुनका गरगहना चोरी भएको पुष्टि भएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये केहीलाई पुर्पक्षका लागि थुनामा पठाइएको र केही धरौटीमा रिहा भएका छन्। यस अवधिमा ६५ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूमाथि १४ वर्ष ४ महिना २९ दिन कैद सजाय तथा ९० लाख ६८ हजार ५६० रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। यसैबीच लेकसाइड क्षेत्रमा चोरी, अभद्र व्यवहार तथा सार्वजनिक शान्ति भंग गर्ने घटनामा ५ जना युगान्डा नागरिक पक्राउ परेका छन्।

फुटपाथ अतिक्रमण गरी पार्किङ गर्ने १ हजार ६० वटा सवारी साधन नियन्त्रणमा लिई कारबाही गरिएको छ। साथै अवैध रूपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न १४ वटा सवारी साधन नियन्त्रणमा लिई २ लाख २९ हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित : जेष्ठ २८, २०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सीमातर्फ लैजाँदै गरिएको ९२२ किलो गाँजा बरामद, तस्कर फरार : मोरङ JCNEPALMEDIA

निर्वाचन प्रहरीको पोशाक खरिदमा करोडौं भ्रष्टाचार, आइजीपी र पूर्व गृहमन्त्री अख्तियारको छानबिनमा : JCNEPALMEDIA

भारतमा बर्दिवासका बालबालिकासहित १६ जना बन्धक बनाएर राखिएकाहरूलाई उद्धार गरी घर फर्काईयो ; JCNEPALMEDIA

२६ वर्षीय युवकले जब अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत गरे किर्ते : JCNEPALMEDIA

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने कार्यसूची

सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA