“प्रहरीकै छायाँमा मदिरा साम्राज्य ? बाराको गन्जभवानीपुरमा अवैध भट्ठी

असार ०६,२०८३ / जेसी नेपाल संवाददाता

बारा : बाराको गन्जभवानीपुर क्षेत्र अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरणको केन्द्र बन्दै गएको भन्दै स्थानीयवासीले गम्भीर चिन्ता व्यक्त गरेका छन्। प्रहरीकै संरक्षणमा एक दर्जनभन्दा बढी घरेलु मदिरा भट्ठी सञ्चालन भइरहेको तथा त्यसबापत नियमित आर्थिक असुली हुने गरेको आरोप सार्वजनिक भएपछि यस विषयले स्थानीय तहदेखि सुरक्षा संयन्त्रसम्म प्रश्नको घेरामा परेको छ।

स्थानीयवासीका अनुसार गन्जभवानीपुर प्रहरी चौकीमा प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) प्रवीण मिश्र आएपछि अवैध घरेलु मदिरा उत्पादन तथा कारोबार झन् मौलाएको छ। क्षेत्रका विभिन्न बस्तीमा खुलेआम रूपमा घरेलु मदिरा उत्पादन भइरहे पनि सम्बन्धित निकायबाट प्रभावकारी नियन्त्रण नहुँदा स्थानीयहरू आश्चर्यचकित बनेका छन्। स्थानीय स्रोतहरूको दाबीअनुसार अवैध मदिरा उत्पादन तथा बिक्रीमा संलग्न व्यक्तिहरूसँग मासिक रूपमा ठूलो रकम असुली हुने गरेको छ। केही स्थानीयले मासिक ७५ हजार रुपैयाँसम्म आर्थिक लेनदेन हुने गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार उक्त रकम संकलनका लागि चौकी इन्चार्जकै निर्देशनमा एक प्रहरी हवल्दार परिचालित हुने गरेका छन्। यद्यपि, यी आरोपहरूको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। स्थानीयहरूले चौकी इन्चार्ज मिश्रले जेपी साह भनिने एक हवल्दारमार्फत मदिरा व्यवसायीहरूबाट रकम उठाउने गरेको आरोप लगाएका छन्।

यस्तै, क्षेत्रभित्र सञ्चालन हुने दुईवटा जुवाखालबाट समेत मासिक करिब ३० हजार रुपैयाँ उठाइने गरेको स्थानीयको भनाइ छ। यदि यी आरोप सत्य सावित भए, यसले प्रहरी संगठनको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने देखिन्छ। गन्जभवानीपुर क्षेत्रका विभिन्न स्थानमा प्रभु नुनिया, भोला चमार, रामानन्द जैसवाल, बिगा चमार, जयराम चमार, खुबलाल चमार, असपताली राम, शोभी चमार तथा राजधारी चमारको बुहारीलगायत व्यक्तिहरू घरेलु मदिरा उत्पादनमा संलग्न रहेको स्थानीयहरूको दाबी छ। उनीहरूले उत्पादन गरेको मदिरा मटिअर्वा, निलकन्ठवा, बसतपुर, कलैया तथा आसपासका गाउँ–बजारसम्म पुग्ने गरेको बताइन्छ। स्थानीयका अनुसार अवैध रूपमा उत्पादन हुने घरेलु मदिराका कारण सामाजिक विकृति बढ्दै गएको छ। मदिराको सहज उपलब्धताले युवापुस्तामा दुव्र्यसन फैलिने, घरेलु हिंसाका घटना बढ्ने तथा आपराधिक गतिविधिलाई समेत प्रश्रय मिल्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।

तर, यस्ता गतिविधि नियन्त्रण गर्नुको सट्टा प्रहरीकै मौनता देखिनु थप शंकास्पद बनेको स्थानीयहरूको आरोप छ।“यदि प्रहरीले चाहे एक दिनमै यी सबै भट्ठी बन्द गर्न सक्छ, तर वर्षौंदेखि खुलेआम सञ्चालन भइरहेका छन्,” एक स्थानीयले नाम नखुलाउने सर्तमा भने, “यसले कतै न कतै संरक्षणको आशंका बलियो बनाएको छ।” अवैध घरेलु मदिरा उत्पादन नेपालका विभिन्न जिल्लामा चुनौतीका रूपमा रहँदै आएको छ। यस्ता मदिरा स्वास्थ्यका लागि समेत घातक मानिन्छन्। गुणस्तर परीक्षणबिनै उत्पादन गरिने भएकाले विषाक्त पदार्थ मिसिने जोखिम उच्च हुने स्वास्थ्यकर्मीहरू बताउँछन्। विगतमा घरेलु मदिरा सेवनका कारण विभिन्न स्थानमा ज्यानसमेत गएको घटनाहरू सार्वजनिक भइसकेका छन्।

यता, गन्जभवानीपुर प्रहरी चौकीका इन्चार्ज सई प्रवीण मिश्रसँग आरोपबारे प्रतिक्रिया लिन खोज्दा उनले कुनै प्रतिक्रिया दिन चाहेनन्। आरोपहरूबारे स्पष्ट जवाफ नआएपछि स्थानीय स्तरमा थप जिज्ञासा र आशंका पैदा भएको छ। यस विषयमा जिल्ला प्रहरी कार्यालय बारा तथा सम्बन्धित उच्च सुरक्षा निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन्। उनीहरूका अनुसार यदि आरोप निराधार हुन् भने त्यसको खण्डन हुनुपर्छ, र यदि आरोप सत्य हुन् भने संलग्न जो–कोहीमाथि कानुनी कारबाही हुनुपर्छ।गन्जभवानीपुरमा अवैध मदिरा भट्ठी, जुवाखाल र कथित आर्थिक असुलीका आरोपले सुरक्षा संयन्त्रको जवाफदेहिता, कानुन कार्यान्वयनको प्रभावकारिता र स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ। अब सम्बन्धित निकायको छानबिनले वास्तविकता उजागर गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित : असार ०६,२०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अध्यादेशबाटै कर्मचारी हटाउन चाहन्छन् बालेन, संसद्‌बाट ऐन बनाउनुपर्ने रविको जोड : JCNEPALMEDIA

चोरीकाे गाडी लिएर अर्को चोरी गर्न गएका चोर गाडीसहित पक्राउ : सर्लाही JCNEPALMEDIA

धनुषा शहिदनगरपालिकाकाे जेसिबीमा आगो, जलेर ध्वस्त, वडाध्यक्ष र पूर्वमेयरले मेयर यादवमाथि लगाए आरोप : JCNEPALMEDIA

मलंगवामा मध्यरातमा छापा मारेपछि ७५ बोरा फर्सीको बीउ बरामद, प्रहरीमाथि ढुंगामुढा, ग्यासफायरपछि स्थिति नियन्त्रणमा : JCNEPALMEDIA

प्रहरी पोशाक खरिदमा नयाँ मोड : स्वयं खरिद प्रणाली लागू गर्ने सरकारको तयारी : JCNEPALMEDIA

एमाले पुनर्गठनका लागि लुम्बिनीमा संकलन गरिँदै सुझाव : JCNEPALMEDIA