अख्तियारले भ्रष्टाचार मुद्दा लगाएपछि ठाकुरको सम्पत्ति शुद्धिकरणको माग : JCNEPALMEDIA

असार २०,२०८३ / जेसी नेपाल संवाददाता

रौतहट : रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित अन्य ३ जनाविरुद्ध विद्यालय भवन निर्माणमा भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको सम्पत्ति, कार्यशैली र विगतका गतिविधिमाथि समेत स्थानीय स्तरमा व्यापक चर्चा सुरु भएको छ ।

तत्कालीन पिपरा पोखरिया गाविसमा २०५५ सालमा प्राविधिक सहायक पदबाट सरकारी सेवामा प्रवेश गरेका ठाकुर त्यसपछि जिल्ला विकास समिति रौतहटमा सरुवा भई प्रशासनिक जिम्मेवारीमा पुगेका थिए । जिल्ला विकास समितिको प्रशासन शाखाको नेतृत्व सम्हाल्ने क्रममा कर्मचारी भर्ना, सरुवा र बढुवालगायतका प्रशासनिक काममा आर्थिक चलखेल हुने गरेको आरोप उनीमाथि वर्षौंदेखि लाग्दै आएको स्थानीयहरूको दाबी छ । यद्यपि ती आरोपहरू अदालतबाट प्रमाणित भएका सार्वजनिक अभिलेख उपलब्ध छैनन् । उनीमाथि जिल्ला विकास समितिको स्वामित्वमा रहेको जग्गा बिक्री प्रकरणमा समेत नाम जोडिएको चर्चा भए पनि उक्त विषयमा उनीविरुद्ध कानुनी कारबाही भएको वा अदालतबाट दोषी ठहर भएको सार्वजनिक प्रमाण फेला परेको छैन ।

त्यसपछि तत्कालीन स्थानीय विकास अधिकारी रामआशीष दासले २०६६ सालमा उनलाई जिल्ला विकास समितिको प्रशासन शाखामा सरुवा गरी महत्वपूर्ण जिम्मेवारी दिएका थिए । देश संघीय संरचनामा गएपछि जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रूपान्तरण भए पनि ठाकुर प्रशासन शाखा प्रमुखकै रूपमा कार्यरत रहे । पछि बढुवा हुँदै उनी राजपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत बनेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक सरुवा गरे पनि उनी लामो समयसम्म राजपुर नगरपालिकामै प्रभावशाली रूपमा कार्यरत रहेको स्रोतको दाबी छ । यसबीच ठाकुरको सम्पत्तिलाई लिएर पनि विभिन्न प्रश्न उठिरहेका छन् ।

सामान्य आर्थिक अवस्थाबाट सरकारी सेवामा प्रवेश गरेका उनले हाल रौतहटको गौर–५ मा करिब डेढ कठ्ठा जग्गामा तीनतले पक्की घर निर्माण गरेका छन् । जिल्लाका विभिन्न बजार तथा अन्य सहरमा समेत उनको तथा आफन्तहरूको नाममा जग्गा रहेको स्रोतको दाबी छ । यद्यपि ती सम्पत्तिको स्रोतबारे सम्बन्धित निकायबाट औपचारिक अनुसन्धान भएको सार्वजनिक जानकारी छैन । अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै ठाकुरको आय–व्यय, सम्पत्तिको स्रोत तथा सम्भावित सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी विषयमा समेत अनुसन्धान हुनुपर्ने आवाज स्थानीयस्तरमा उठ्न थालेको छ । यसैबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजपुर नगरपालिका–५ स्थित जनता (नमुना) माध्यमिक विद्यालयको ८ कोठे प्रिस्कुल ब्लक निर्माणमा अनियमितता भएको निष्कर्ष निकाल्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित चार जनाविरुद्ध विशेष अदालतमा शुक्रवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार बहुवर्षीय गुरुयोजनाअन्तर्गत निर्माण गरिएको भवनमा वास्तविक कार्यभन्दा बढी मूल्याङ्कन गरी सरकारी रकम हिनामिना गरिएको छ। सुरुमा ९७ लाख ३७ हजार ९९४ रुपैयाँ लागत अनुमान गरिएको परियोजनाको लागत संशोधनपछि १ करोड ५ लाख ७७ हजार ५९६ रुपैयाँ पु¥याइएको थियो । निर्माण सम्पन्न भएपछि १ करोड ९ लाख ८१ हजार ५०१ रुपैयाँ खर्च भएको देखाइए पनि आयोगको स्थलगत निरीक्षण तथा नापजाँचका क्रममा ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बराबरको काम कम भएको भेटिएको आयोगले जनाएको छ । अनुसन्धानका क्रममा नभएको कामलाई भएको देखाएर झुटो बिल, भरपाई तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी सरकारी कोषलाई हानि पुर्‍याइएको आयोगको आरोप छ ।

यस प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, इन्जिनियर मोहम्मद शाह फैसल, विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र तथा लेखापाल शेख जाहिरविरुद्ध जनही ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना तथा बिगो असुलउपरको माग गरिएको छ ।

प्रकाशित : असार २०,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सांसद कानुले संसद्मा आवाज उठाएपछि अस्ट्रेलियाबाट राकेश पटेलको शव नेपाल ल्याउने प्रक्रिया सुरु : JCNEPALMEDIA

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तहका १४२ कर्मचारी माग : JCNEPALMEDIA

मिटरब्याज विवादमा मुछिए पूर्व वडाध्यक्ष, अनुसन्धानबाट जोगिन फरार : JCNEPALMEDIA

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु : JCNEPALMEDIA

हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा JCNEPALMEDIA

जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु : गाेगल प्रसाद बसहिया JCNEPALMEDIA