दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

भदौ ३०,२०८३ / जेसी नेपाल संवाददाता

धनुषामा १५ महिनाको एक बालकको अपहरण भएको ११ दिनपछि सकुशल उद्धार भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले बालकको उद्धार गरेको हो ।

धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाका कमलेश महतोको १५ महिनाका छोरा सिद्धान्त गत भदौ १८ गते अपरान्ह एकाएक हराएका थिए । परिवारले सिद्धान्तको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकाे थियो । लगत्तै धनुषाका प्रहरी प्रमुख एवं एसपी रुपेश खड्काको कमान्डामा ६० जनाको प्रहरी टोली खोजतलामा जुटेको थियो ।

 

आँगनमै खेलिरहेका सिद्धान्तको राम्रोसँग बोली फुटेको थिएन । राम्रोसँग हिँड्‌डुल समेत गर्न नसक्ने उनी घर वरपरै खेलिरहेको वा कतै गएको आशंकामा प्रहरीले घटनास्थल तथा आसपासमा तालिमप्राप्त कुकुर समेतको सहयोगमा खोजतलास शुरू गरेको थियो । सिद्धान्त परिवारलाई फिरौती मागेको वा अन्य कुनै शंकास्पद फोन पनि आएको थिएन । तर, केही क्लू फेला पार्न नसकेपछि धनुषाकै डीएसपी ओमप्रकाश खनाल र मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङको कमान्डमा अर्को टोली खटियो । ‘प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहको संयुक्त अनुसन्धान टोलीले खोजतलास तथा अनुसन्धान शुरू गर्‍यो ।

अचम्मको कुरा त सिद्धान्तलाई जसले लग्यो, उसले परिवारसँग कुनै फिरौती मागेको थिएन, घरमा अपरिचित व्यक्तिको आउजाउ पनि थिएन’, डीएसपी खनालले मिडिया सँग भने,‘सिद्धान्तको परिवारको अरुसँग कुनै रिसइबी पनि थिएन, कसले लग्यो त बच्चा भनेर हामी गम्भीर अनुसन्धानमा जुट्यौं ।’ प्राविधिक विश्लेषणपश्चात सिद्धान्तलाई धनुषाको कमला नगरपालिका–९ हथलेट्वा बस्ने ४१ वर्षीया पुनितादेवी पासवानले लगेको तथ्य खुल्यो । अनि, प्रहरी पासवानको खोजीमा जुट्यो । पासवानको माइती भारतको मधुवनीमा रहेकाले डीएसपी खनालको टोलीले भारतीय प्रहरीसँग समेत समन्वय गरेको थियो । अनुसन्धानका क्रममा पासवानले सिद्धान्तलाई माइती समेत लगेको तथ्य खुल्यो ।

‘पासवानको दुई छोरी मात्रै छन् । आफ्नो छोरा नभएकै कारण उनले सिद्धान्तको अपहरण गरेको हो कि भन्ने आशंका छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले मिडिया सँग भने, ‘अझै केही कुरा बुझ्न बाँकी छ । त्यसकारण अहिले नै यही भन्ने निचोडमा पुगेका छैनौं ।’ सशुकल उद्धार गरेका बालकलाई परिवारको जिम्मा लगाउँदै प्रहरी । प्रहरी टोली पासवानको माइती मधुवनीमै पुगेर समेत सिद्धान्तको खोजतलास गरेको थियो । तर, प्रहरी टोली आएको आशंकापछि पासवान सिद्धान्ततलाई लिएर पुन: जनकपुर फर्किएकी थिइन् ।

उनले जनकपुरको डेरामा सिद्धान्तलाई राख्दै आएकी थिइन् । प्रहरीले व्यापक खोजतलास गरेपछि दबाब थेग्न नसकेर पासवानले सोमबार सिद्धान्तलाई उनको घरदेखि तीन सय मिटर पर छाडेर भागेकी थिइन् । डीएसपी खनालका अनुसार सिद्धान्तलाई छाडेर भाग्दै गरेकी पासवानलाई प्रहरीले धनुषाकै महिनाथपुरबाट पक्राउ गरेको हो । ‘हाम्रो २५ जनाको टोली निरन्तर सिद्धान्तको खोजीमा जुटेको थियो, पासवानले सिद्धान्तलाई भारतको विभिन्न स्थान र नेपालतर्फ विभिन्न ठाउँ फेरेर राख्दै आएकी थिइन्,’ डीएसपी खनालले भने, ‘केही सीप नलागेपछि पासवान सिद्धान्तलाई छाड्न बाध्य भएकी हुन् ।

पासवान अहिले धनुषा प्रहरीको हिरासतमा छिन् । उनी प्रहरीसँग बोल्न डराइरहेकी छिन् । ‘हामी पासवानसँग बयान लिने तयारी गरिरहेका छौं, उनी धेरै डराइरहेकी छिन्,’ खनालले भने, ‘उनीविरुद्ध अपहरण, शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान शुरू गरिनेछ ।

प्रकाशित : भदौ ३०, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA

मधेशमा अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन निर्देशन : JCNEPALMEDIA