ख्यातिप्राप्त हाेटलमा फोहोरी मिसावट, जनकपुरको पुरानो नवरंग होटेललाई ४० हजार जरिवाना : JCNEPALMEDIA

असार २३,२०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : बाहिरबाट आकर्षक र स्वादिलो भोजनको दाबी गर्ने जनकपुरधामस्थित पुरानो नवरंग होटेलको भान्साघर सरकारी अनुगमनमा अत्यन्त फोहोर अवस्थामा भेटिएको छ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने खाद्य स्वच्छताका आधारभूत मापदण्ड उल्लंघन गरेको पाइएपछि मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले होटेललाई ४० हजार रुपैयाँ जरिवाना गरेको छ। मन्त्रालयले सञ्चालन गरिरहेको खाद्य स्वच्छता अनुगमन अभियानका क्रममा होटेलको भान्साघरमा सरसफाइको अभाव, खाद्य सामग्रीको अव्यवस्थित भण्डारण तथा खाद्य सुरक्षासम्बन्धी न्यूनतम मापदण्डसमेत पालना नगरिएको भेटिएको थियो।

अनुगमन टोलीले उपभोक्तालाई गुणस्तरहीन तथा अस्वच्छ खाना परोसिएको निष्कर्ष निकाल्दै तत्काल आर्थिक जरिवाना गर्नुका साथै सुधारका लागि निर्देशन दिएको जनाएको छ। अनुगमन टोलीका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने प्रकृतिका कमजोरी भेटिएकाले कारबाही गरिएको हो। मन्त्रालयले यस्ता लापरबाही दोहोरिए प्रचलित कानुनबमोजिम थप कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ। यस होटेलबारे स्थानीय तहमा अर्को विषय पनि लामो समयदेखि चर्चामा छ।

जनकपुरधामको परिक्रमा सडक क्षेत्रभित्र मदिरा तथा मासुजन्य परिकारको बिक्रीमा प्रतिबन्ध रहेको भए पनि पुरानो नवरंग होटेलमा उक्त प्रतिबन्ध प्रभावकारी रूपमा कार्यान्वयन नभएको र खुला रूपमा मदिरा तथा मासुजन्य परिकार बिक्री हुँदै आएको स्थानीयवासीको दाबी छ। यद्यपि यस विषयमा सम्बन्धित निकायले औपचारिक रूपमा कुनै निष्कर्ष सार्वजनिक गरेको छैन। स्थानीयका अनुसार सामान्य होटल व्यवसायबाट सुरु भएको पुरानो नवरंग होटेल अहिले जनकपुरधामका व्यस्त तथा लोकप्रिय भोजनालयमध्ये एक बनेको छ। दैनिक ठूलो संख्यामा ग्राहक पुग्ने यस होटेलबाट गुणस्तरीय र सुरक्षित भोजनको अपेक्षा गरिए पनि सरकारी अनुगमनले सार्वजनिक गरेको अवस्थाले उपभोक्ताको विश्वासमाथि नै प्रश्न उठाएको छ।

स्थानीयवासीले होटेल सञ्चालन सम्हाल्दै आएका प्रकाश भगतमाथि गुणस्तरहीन खाना बिक्री गरेर ठूलो सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै आएका छन्। तर, ती आरोपबारे होटेल व्यवस्थापनले सार्वजनिक प्रतिक्रिया दिएको छैन। होटेल भने सुजाता कुमारीको नाममा दर्ता रहेको जनाइएको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले असार १५ गतेदेखि धनुषाका होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छता अनुगमन अभियान सञ्चालन गर्दै आएको छ। अभियानअन्तर्गत हालसम्म खाद्य सुरक्षा तथा उपभोक्ता संरक्षणसम्बन्धी मापदण्ड उल्लंघन गर्ने विभिन्न होटल तथा रेष्टुरेन्टबाट दुई लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरिएको मन्त्रालयले जनाएको छ। यसअघि लक्ष्मीनियास्थित बाबाको ढाबालाई ३५ हजार रुपैयाँ, ढल्केबरस्थित द रोयल सम्राटलाई ५ हजार रुपैयाँ, जनकपुरधामस्थित बाजेको सेकुवालाई ७५ हजार रुपैयाँ, बर्गर हाउसलाई ३५ हजार रुपैयाँ तथा राजु होटललाई ४० हजार रुपैयाँ जरिवाना गरिएको थियो।

मन्त्रालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छता, सरसफाइ र गुणस्तरका मापदण्ड कडाइका साथ लागू गरिने जनाएको छ। अनुगमनमा कमजोरी भेटिएका व्यवसायलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ भने पुनः लापरबाही दोहोरिए थप कडा कानुनी कारबाही गरिने स्पष्ट पारिएको छ। पुरानो नवरंग होटेलमाथिको कारबाहीले जनकपुरधामका चर्चित र लोकप्रिय होटलहरू पनि कानुनभन्दा माथि नरहेको सन्देश दिएको छ। स्वाद मात्र होइन, स्वच्छता, गुणस्तर र कानुनी मापदण्डको पूर्ण पालनाले मात्र उपभोक्ताको विश्वास कायम रहन्छ भन्ने तथ्यलाई यो अनुगमनले पुनः स्थापित गरेको छ।

प्रमाशित : असार २३,२०८३        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण दोषी ठहर : JCNEPALMEDIA

नेपाल–भारत सीमा नजिकै बारामा वेवारिसे शव फेला : JCNEPALMEDIA

बालेनले उल्ट्याए सुशीला कार्कीको निर्णय,कानुनमन्त्री साेविता संसदमा टेबुल गर्ने : JCNEPALMEDIA

पर्सामा १०२ केजी गाँजा र कारसहित भारतीय नागरिक पक्राउ : JCNEPALMEDIA

प्रेमिकालाई भेट्न पुगेका युवकको जबर्जस्ती विवाह गराइयो, ‘पकडुवा विवाह’ को घटना फेरि चर्चामा : JCNEPALMEDIA

प्रधानमन्त्रीमाथि मानव अधिकार ‘उल्लंघन’ आरोप, सर्वोच्चमा भोलि सुनुवाई : JCNEPALMEDIA