घुमुवामा नयाँ इन्ट्रीदेखि चौकी इन्चार्जसम्म एउटै टोलीको रजगज, एसपी खत्री विरुद्ध परे उजुरी : JCNEPALMEDIA

असार २५,२०८३ / जेसी नेपाल संवाददाता

हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम बहादुर खत्रीका प्यारा घुमुवा सई नवीन बिक्रम थापा खेदिएका छन् ।

घुमुवाका रुपमा उठ्तीपुठ्तीमा अधिक सक्रिय भएपछि उनका बारेमा दर्जनौं उजुरी हेडक्वार्टर र बागमति प्रदेश प्रहरी कार्यालयमा परेपछि उनको ताप्लेजुङ काज सरुवा भएको हो । २४ घण्टाभित्र रवाना गर्न नत्र कार्यालय प्रमुखलाई नै कारबाही गर्ने लिखित आदेश हेडक्वार्टरले दिएपछि बाध्य भएर गत असार ३ गते बुधबार साँझ रवाना पत्रमा हस्ताक्षर गर्न बाध्य भएका एसपी खत्रीले ताप्लेजुङका डीएसपी उमेश जोशीलाई फोन गरी केही दिन बिदा दिन मौखिक अनुरोध गरेका थिए ।

“नवीन मेरो प्यारो केटा हो, भाई जस्तै हो केही दिनपछि आउँछ” भनिदिएपछि सई थापा लामो समय हाजिर हुन गएका थिएनन् । गत असार १६ गते मात्र सई थापा ताप्लेजुङमा हाजिर भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनी केही समयपछि राजीनामा दिएर हेटौंडा फर्कने तयारीमा रहेको निकट स्रोतको दावी छ । हेटौंडा बजार र मकवानपुरको बारेमा सबै जानकार घुमुवा सई नवीन थापा काज सरुवामा परेपछि हाल वडा प्रहरी कार्यालय सानोपोखराको इन्चार्ज रहेका इन्सपेक्टर धर्मबहादुर खत्री नयाँ घुमुवाको रुपमा नयाँ इन्ट्री भएको खबर छ । साथै एसपी खत्रीका बडीगार्ड सहायक हबल्दार सुमन गदाललाई असुलीमा खटाउने गरेको स्रोतले बतायो ।

मकवानपरको समग्र उठ्तीपुठ्तीको अखडाहरु पूर्व घुमुवा सई नवीन थापाले इन्सपेक्टर खत्रीलाई चिनाएर भेटाएर सबै बिफ्रिङ गरेको दावी समाचार स्रोतको छ । सई थापाले एन्सपेक्टर खत्रीलाई हेटौंडा बजारका दोहोरी साँझ, रेष्टुरेष्ट, वेश्यावृति हुने होटलहरु, काठमाडौंबाट मधेशप्रदेश र कोशी जाने तथा मधेशप्रदेशदेखि पूर्वी नाकाबाट हुने तस्करी लाइनको नेक्सस्, लागुऔषध गाँजा, अफिमको नेक्सस्, गाईंगोरु तस्करीको नेक्सस् बारे विस्तृत विवरण टिपाएको दावी समाचार स्रोतको छ । उता इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्चार्ज इन्सपेक्टर किशोर आर्चायको रजगज पनि लोभलाग्दो रहेको जानकारहरु बताउँछन् । उनी यसअघि बागमति प्रदेश प्रहरी कार्यालय मै बसेकाले पनि हेटौंडाको बारेमा नजिकबाट जान्ने अवसर प्राप्त गरेको बताइएको छ ।

समाचार स्रोतका अनुसार एसपी खत्रीले मातहतका चौकी इन्चार्जहरु प्रायः ६/६ महिनामा परिवर्तन गर्नु पर्नेमा मालदार मध्ये मानिने रातमाटे प्रहरी चौकीका इन्चार्ज असई गौरी शंकर साहको ११ महिना भन्दा बढी भइसक्दा पनि सरुवा गरेका छैनन्। अरु जुनियर सई–असईहरु एक वर्षदेखि जिल्लामै थन्किएर बसेका छन् । यस्तै प्रहरी चौकी भैंसेका असई भरत खडका त्यहाँ बसेको एक वर्ष भन्दा बढी भयो । उनको सरुवा बाहिर जिल्लामा भएपनि एसपीले रवाना दिन चासो नदेखाएको स्रोतको भनाईं छ । यसबाहेक पनि गाँजा र अफिम उत्पादन हुने पहाडि एरियाका इन्चार्जहरुको अदलीबदलीमा पनि समस्या रहेको बताइन्छ । प्रहरी चौकी नामटारका इन्चार्ज असई कृष्ण लोहनीको पनि ९ महिना भइसकेको बताइएको छ । यसबाट जुनियर प्रहरी अफिसरहरुमा व्यापक असन्तुष्टी छाएको बताइएको छ ।

बागमति प्रदेश प्रहरी कार्यालयले पटक पटक किन चेञ्ज नगरेको भन्दा कोही पनि जान मान्दैन भन्दै एसपी खत्रीले ढाँटने गरेको दावी स्रोतको छ । हालै मात्र धेरै विरोध र उजुरी परेपछि बसपार्कका इन्चार्ज असई सन्तुलाल तामाङलाई चेञ्ज गरि नयाँ पठाइएको छ । उनको दरबन्दी रौतहट भएपनि लामो समयदेखि बसपार्कमा बसेर वेश्यावृत्ति हुने होटल तथा दोहोरी डान्स बारबाट मोटो रकम असुली गरेको भन्दै दर्जनौं उजुरी परेको थियो । यस्तै प्रहरी चौकी नेवारपानीमा जिल्ला घुमुवा सई नवीनको समाचार धेरै आएपछि कारबाही छल्न पठाएको एक महिना नबित्दै उनी कारबाही स्वरुप ताप्लेजुङ काज सरुवा भई रवाना भएपछि अरुलाई पठाइएको छ । एसपी खत्रीले चौकी हेरी मासिक ५० हजारदेखि २ लाखसम्म चौकी इन्चार्जहरुसँग लिएको भन्दै १० भन्दा बढी उजुरी हेडक्वार्टरको उजुरी शाखामा परेको बताइएको छ । हालैमात्र सरुवा भएर इप्रका मनहरीको इन्चार्जमा आएका इन्सपेक्टर सर्यप्रकाश भट्टलाई एसपीले “पहिलेको जस्तो गर नभए सबै घुमुवा तानिदिन्छु” भन्दै थर्काएको दावी समाचार स्रोतले गरेको छ । एसपी खत्रीले युनिट इन्चार्जहरुलाई “तिमीहरुले मलाई माइनस गरिस भने २४ घण्टामा अरु प्रदेशमा लखेटिदिन्छु भनेर थर्काउने र असुलीमा व्यस्त हुने गरेको प्रहरी स्रोतको दावी छ।

एमालेको निकट रहेको भनी खत्रीका सहकर्मीहरु बीच चर्चा हुने उनकी श्रीमति नार्गाजुन नगरपालिकाका एमाले तर्फबाट उम्मेदवार भई उपमेयरमा रहेकाे बताइन्छ । हाल उनी सो नगरपालिकाको कार्यबाहक मेयर हुन् । जेनजी विद्रोह अघि एसपी खत्री एमालेकै सिफारिसमा सरुवा मिलाएर हेटौंडा गएको उनका कतिपय सहकर्मीहरु बताउँछन् । उनले आफू र नवीन थापा विरुद्ध लागेको भन्दै केही सिपाही–हबल्दार एवं जुनियर अफिसरहरुलाई जिल्लाबाटै लखेटेको बताइन्छ । प्रदेशलाई पत्तो नै नदिई उनले सिधै हेडक्वार्टरमा नाम टिपाएर केही प्रहरीको काज सरुवा गराएको आरोप पनि उनीमाथि लगाइएको छ । एसपी खत्री विरुद्ध परेका उजुरी उपर प्रहरी प्रधान कार्यालयले बागमति प्रदेश डीआईजीलाई छानविन गर्न आदेश दिएको स्रोतले बताएको छ । बागमति प्रदेश प्रहरी कार्यालय स्रोतका अनुसार मकवानपुरका एसपी खत्रीले लामो समय एकैठाउँमा प्रहरी इन्चार्जहरु राखेको भन्दै सोधपुछ गरेको छ । साथै युनिट इन्चार्जहरुलाई पनि बोलाएर बयान लिएको बताइएको छ । प्रदेश प्रहरीले एसपी खत्रीलाई स्पष्टिकरण सोध्नुका साथै लिखित कागज गराएको दावी स्रोतको छ । यस्तै हेटौंडा नगरपालिकाले ३ करोड ६० लाखमा ग्रीन सिटी कम्पनी हेटौंडालाई स्थानीय कर असुल्न भन्दै ठेक्का दिएको छ । सो ठेकेदारले पालिका अफिस नजिकै एउटा ढाँट राखेको छ । स्थानीय कर उठाउने जिम्मा कम्पनीले कर्मचारीहरु जितेन्द्र श्रेष्ठ र शंकर श्रेष्ठ खटाएको छ ।

कर असुल्ने क्रममा त्यहाँ दिनहुँ लफडा हुने गरेको छ । कर असुली पनि मनपरी रुपमा जबरजस्ती असुलिने गरेको भन्दै सेवाग्राहीले लफडा गर्दा सुरक्षामा प्रहरी खटिने गरेको छ । भारतीय ठूला गाडीसँग एक हजारदेखि १५ सय एवं साना गाडीसँग ५०० असुल्ने गरेको भनाईं भुक्तभोगीको छ । नेपाली बस ट्रक एवं साना गाडीबाट पनि एक सयदेखि ३/४ सयसम्म असुल्ने सो कम्पनीले जिल्लाका सुरक्षा अंग नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिडिओलाई पनि राम्रै सेवा सत्कार गर्ने गरेको स्रोतले दावी गरेको छ । हेटौंडा नगरपालिकाको फोहोर उठाउने ठेक्का पनि यही कम्पनीले पाएको, नगरबासीसँग मासिक मोटो रकम असुल्ने तर फोहोर उठाउन गाडी भने नपठाउने गरेको एक स्थानीयबासीले बताएका छन् ।

समाचार बारे प्रतिक्रिया लिन मकवानपुर प्रहरी प्रवक्ता माधव प्रसाद काफ्ले, एसपी श्याम बहादुर खत्रीले फोन उठाएनन् । प्रदेश प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद धमलाले आफू हाजिर भएको एक हप्ता मात्र भएकाले त्यसबारे कुनै जानकारी नभएको बताए । पछि सम्पर्कमा आएका डीआईजी दीपक रेग्मीले एसपी साबलाई स्पष्टिकरण नसोधेको तर उजुरी परेपछि छानविन भने भइरहने प्रहरीको नियमित काम भएको नेपालबहसलाई बताए । मकवानपुर प्रहरीका कुनै अफिसरले मिसविहेव गरेको उजुरी परेपछि सम्बन्धित ती प्रहरी अधिकारीलाई बोलाएर सोधपुछ गरिएको जानकारी दिए ।

प्रमाशित : असार २५,२०८३             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सप्तकोसीमा तैरिएको अबस्थामा ३०८ किलो गाँजा बरामद : JCNEPALMEDIA

नेपाल–भारत सीमा नजिकै बारामा वेवारिसे शव फेला : JCNEPALMEDIA

पर्सामा १०२ केजी गाँजा र कारसहित भारतीय नागरिक पक्राउ : JCNEPALMEDIA

प्रेमिकालाई भेट्न पुगेका युवकको जबर्जस्ती विवाह गराइयो, ‘पकडुवा विवाह’ को घटना फेरि चर्चामा : JCNEPALMEDIA

प्रधानमन्त्रीमाथि मानव अधिकार ‘उल्लंघन’ आरोप, सर्वोच्चमा भोलि सुनुवाई : JCNEPALMEDIA

जनकपुरको चर्चित हंसराज मिष्ठान्न भण्डारमा अखाद्य वस्तु फेला, ५० हजार रुपैयाँ जरिवाना : JCNEPALMEDIA