रोपाइँको बेला मलखादकाे अभावले किसानकाे मन खिन्न ,किसानको एउटै प्रश्न- मल कहाँ छ सरकार ? : JCNEPALMEDIA

असार २९,२०८३ / जेसी नेपाल संवाददाता

मधेस प्रदेश : असारको अन्तिम सातासम्म आंइपुग्दा मधेश प्रदेशका अधिकांश खेतमा धान रोपाई तीव्र रूपमा भइरहेको छ। मधेश प्रदेशको अधिकांश क्षेत्रमा आकाशबाट पानी परेपछि किसान धान रोपाईमा व्यस्त देखिए‌का छन्।

तर उनीहरूको सबैभन्दा ठूलो चिन्ता मौसम वा श्रमिक अभाव होइन-रासायनिक मलको चरम अभाव छ। कृषिप्रधान मुलुकका अन्नदाता किसानहरू यतिबेला उत्साहभन्दा बढी आक्रोश र निराशामा छन्। उनीहरूको एउटै प्रश्न छ-'हामी त खेतमा छौं, मल चाहिँ कहाँ छ सरकार ? सरकारले गोदाममा पर्याप्त मल मौज्दात रहेको दाबी गरे पनि मधेशका अधिकांश किसानले खेतसम्म मल नपुगेको गुनासो गरिरहेका छन्। कृषि मन्त्रालयले देशभर ९२ हजार ५ सय ९२ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ भने कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले पनि पटक-पटक मल अभाव नरहेको दाबी गर्दै आएकी छन् ।

तर सरकारी तथ्यांक र किसानको वास्तविक अवस्थाबीच ठूलो अन्तर देखिएको छ। मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासहित अधिकांश जिल्लामा किसानहरू एक बोरा मलका लागि दिनौं लाइन बस्न बाध्य छन्। प्रतिनिधिसभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टेकबहादुर शाक्यले मधेश प्रदेशका किसानको पीडा सुनाउँदै सरकारलाई प्रश्न गरे, 'हामी तः खेतमा छौं, मल चाहिँ कहाँ छ सरकार ? उसले किसानहरूले दैनिक सांसदहरूलाई फोन गरेर मल मागिरहेको उल्लेख गर्दै भने, हामीले किसानलाई के जवाफ दिने ? कि त जवाफ सिकाइदिनुपयों, कि त मल दिनपर्छ।

उनले मल अभावले किसान निराश र आक्रोशित बनेको भन्दै तत्काल वितरण व्यवस्थापन गर्न सरकारसंग माग गरे। रास्वपाकी सांसद करिश्मा कठरियाले पनि संसदमा मधेशका किसानको अवस्था उल्लेख गर्दै भनिन्, 'तराईका जिल्लामा मलको हाहाकार बत्ति बढेको छ कि ज्वरो आउँदा सिटामोलभन्दा पहिले मल चाहियो भन्दै किसान रुन बाध्य छन् । उनले किसानको पीडा सुन्दा पनि सरकारले गोदाममा मल भएको दावी गर्नु किसानको आँशुमाथिको राजनीति भएको टिप्पणी गरिन् ।

सप्तरीको राजविराज-१० का किसान श्यामप्रसाद यादवका अनुसार एउटा सहकारीमा जम्मा १५० बोरा मल आएको थियो, जुन स्थानीय मागको एक प्रतिशत पनि होइन । मधेशका अन्य जिल्लामा पनि अवस्था उस्तै छ। धेरै किसान रासायनिक मल नपाएर धान रोप्न बाध्य छन् भने कतिपयले भारतबाट महँगो मूल्यमा मल ल्याउने प्रयास गरिरहेका छन्। कृषि विभागका अनुसार असार २६ गतेसम्म मधेश प्रदेशमा जम्मा ३२.८ प्रतिशत मात्र धान रोपाईं सम्पन्न भएको छ। यो सातै प्रदेशमध्ये दोस्रो सबैभन्दा कम प्रगति छ। मल अभाव, उन्नत बिडको कमी तथा सिँचाइ समस्याले रोपाईको गति प्रभावित भएको कृषि क्षेत्रका जानकारहरू बताउँछन् ।

सरकारसंग मौज्दात रहेको र बाटोमा रहेको मल जोड्दा पनि बर्खे धानका लागि आवश्यक पर्ने कुल मलको एकतिहाइ मात्रै पुग्ने अवस्था रहेको कृषि क्षेत्रका जानकारहरूको भनाइ छ। बर्खे धानका लागि नेपाललाई करिब २ लाख मेट्रिक टन युरिया, १ लाख ५० हजार मेट्रिक टन डीएपी र १५ हजार मेट्रिक टन पोटास आवश्यक पर्छ। तर मौज्दात रहेको भनिएको परिमाणले त्यो आवश्यकता पूरा गर्न सक्दैन। यही कारणले किसान र सांसदहरूले सरकारको पर्याप्त मल भन्ने दाबीमाथि प्रश्न उठाइरहेका छन्। मल अभावसंगै खरिद प्रक्रियामाथि पनि गम्भीर प्रश्न उठेको छ ।

एउटै अन्तर्राष्ट्रिय आपूर्तिकर्ताले भारतलाई कम मूल्यमा र नेपाललाई झन्डै दोब्बर मूल्यमा मल उपलब्ध गराएको विषय संसदमा समेत उठाइएको छ। सांसदहरूले कर्मचारी, व्यापारी र विचौलियाबीच मिलेमतो भएको आशंका व्यक्त गर्दै खरिद प्रक्रिया छानबिन गर्न माग गरेका छन्। नेपालको कुल खेतीयोग्य क्षेत्रफलमध्ये ५४ प्रतिशतमा धान खेती हुने गर्छी कृषि कुल गार्हस्थ उत्पादनमा धानको योगदान करिब १३ प्रतिशत छ। मधेश देशको प्रमुख अन्न उत्पादन क्षेत्र भएकाले यही प्रदेशमा मल अभाव कायम रहे यस वर्ष धान उत्पादनमा ठूलो गिरावट आउन सक्ने कृषि क्षेत्रका विज्ञले बताए ।

प्रमाशित : असार २९, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायीको अवस्था गम्भीर : JCNEPALMEDIA

सप्तकोसीमा तैरिएको अबस्थामा ३०८ किलो गाँजा बरामद : JCNEPALMEDIA

घुमुवामा नयाँ इन्ट्रीदेखि चौकी इन्चार्जसम्म एउटै टोलीको रजगज, एसपी खत्री विरुद्ध परे उजुरी : JCNEPALMEDIA

नेपाल–भारत सीमा नजिकै बारामा वेवारिसे शव फेला : JCNEPALMEDIA

पर्सामा १०२ केजी गाँजा र कारसहित भारतीय नागरिक पक्राउ : JCNEPALMEDIA

प्रेमिकालाई भेट्न पुगेका युवकको जबर्जस्ती विवाह गराइयो, ‘पकडुवा विवाह’ को घटना फेरि चर्चामा : JCNEPALMEDIA