धनुषाको मिथिला बिहारी नगरपालिका साक्षर घोषणा, ९९.५४ प्रतिशत साक्षरता हासिलको दाबी : JCNEPALMEDIA

असार ३१,२०८३ / जेसी नेपाल संवाददाता

धनुषाको मिथिला बिहारी नगरपालिका औपचारिक रूपमा साक्षर नगरपालिका घोषणा गरिएको छ। एक विशेष समारोहका बीच मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले नगरपालिकालाई साक्षर घोषणा गरेका हुन्।

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डल, प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, निवर्तमान नगर प्रमुख अनिल कुमार यादव, प्रहरी उपरीक्षक रुपेश खड्का, सशस्त्र प्रहरी बलका उपरीक्षक भिम बहादुर बिष्ट, नगर उपप्रमुख शोभा देवी साह, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक तुलसी प्रसाईं, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शिक्षक, विद्यार्थी, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने शिक्षा शाखा प्रमुख रिमा झाले साक्षरता अभियानको प्रतिवेदन प्रस्तुत गर्दै अभियान सञ्चालनको प्रक्रिया, प्राप्त उपलब्धि तथा अन्तिम तथ्याङ्कबारे जानकारी गराएकी थिइन्। कार्यक्रमको अध्यक्षता नगर प्रमुख राजेन्द्र प्रसाद यादवले गरेका थिए। नगरपालिकाले राष्ट्रिय साक्षरता अभियानअन्तर्गत नगर प्रमुख, शिक्षा शाखा, विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालासँग समन्वय गरी विस्तृत कार्ययोजना तयार गरेको थियो। त्यसपछि सामुदायिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका विद्यार्थी, शिक्षक तथा १५ देखि ६० वर्ष उमेर समूहका स्वयंसेवकलाई परिचालन गर्दै १० वटै वडामा घरदैलो साक्षरता अभियान सञ्चालन गरिएको थियो।

अभियानका क्रममा नेपाली वा मातृभाषामा पढ्न–लेख्न सक्ने, सामान्य गणना गर्न सक्ने, बैंक भौचर भर्न, समय र मिति बुझ्न, ट्राफिक संकेत तथा सार्वजनिक सूचना पढ्न सक्ने लगायत राष्ट्रिय साक्षरताका १२ वटा सूचकका आधारमा नागरिकहरूको मूल्याङ्कन गरिएको थियो। अभियानको अनुगमन नगर प्रमुख, उपप्रमुख, सामाजिक विकास समिति तथा कर्मचारीहरूको टोलीले गरेको थियो। अभियानबाट संकलित तथ्याङ्क विद्यालय, शिक्षक, स्वयंसेवक र वडा अध्यक्षबाट प्रमाणीकरण गरी अन्तिम विश्लेषण गरिएको थियो।

तथ्याङ्कअनुसार नगरपालिकाका ५ हजार ८२१ परिवारका ३६ हजार ५४८ जनसंख्यामध्ये १५ देखि ६० वर्ष उमेर समूहका २४ हजार ३१९ जनामध्ये २४ हजार २०८ जना साक्षर रहेका छन्। १४२ जना मात्र निरक्षर रहेको र ३ हजार ६६ जना अभियानमार्फत साक्षर बनेको प्रतिवेदनमा उल्लेख छ। यससँगै नगरपालिकाको साक्षरता दर ९९.५४ प्रतिशत पुगेको छ, जुन राष्ट्रिय साक्षरता मापदण्डले तोकेको ९५ प्रतिशतभन्दा माथि रहेको छ।

प्रमाशित : असार ३१, २०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA