एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि, ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश : JCNEPALMEDIA

श्रावण ०१,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : प्रसूतिको क्रममा मृत्यु भएकी काठमाडौंको गोठाटारकी मनिता शर्माको उपचारमा एभरेस्ट अस्पताल र उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्योत्सना शर्मा तिवारीले लापरबाही गरेको उपभोक्ता अदालतले ठहर गरेको छ । उपभोक्ता अदालतले बिहीबार दिएको फैसलामा एभरेस्ट अस्पताल र चिकित्सकको उपचारमा लापरबाही पुष्टि गर्दै पीडित पक्षलाई कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो । अदालतका प्रवक्ता होमनाथ कँडेलका अनुसार अध्यक्ष डा. दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको इजलासले एभरेस्ट अस्पतालबाट ३० लाख रुपैयाँ र डा. ज्योत्सना शर्मा तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

* श्रीमान् सुवास पराजुली र मृतक मनिता शर्मा ।

मृतक मनिताका श्रीमान् सुवास पराजुलीले उपचारमा लापरबाही भएको दाबी गर्दै उपभोक्ता अदालतमा क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका थिए । प्रवक्ता कँडेलका अनुसार अदालतले उपचार प्रक्रियामा भएका कमजोरीलाई निर्णयको मुख्य आधार बनाएको छ । विशेषगरी प्रि–एक्लेम्प्सियाको समस्या भएकी बिरामीलाई शल्यक्रियाअघि अनिवार्य रूपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि अपरेसनअघि नदिई शल्यक्रियापछि मात्रै दिइएको विषयलाई उपचारमा भएको गम्भीर कमजोरीका रूपमा अदालतले ग्रहण गरेको उनले बताए । उनका अनुसार अदालतले चिकित्सकले नियमित परीक्षण गरिरहेकी बिरामीको स्वास्थ्य अवस्था जटिल बन्न सक्ने पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको तथा प्रि–एक्लेम्प्सियाका बिरामीलाई शल्यक्रियाअघि दिनुपर्ने औषधि नदिएको लगायतका विषयमा अस्पताल र चिकित्सक दुवैको लापरबाही पुष्टि भएको ठहर गरेको छ । कँडेलले चिकित्सकको व्यक्तिगत जिम्मेवारीसँगै अस्पतालको संस्थागत तथा प्रशासनिक दायित्वसमेत रहेको निष्कर्ष निकाल्दै दुवैलाई उत्तरदायी ठहर गरिएको बताए ।

* शल्यक्रियाअघि औषधि नदिई अपरेसन गरियो

फैसलाअनुसार मनिता गर्भावस्थाको अवधिभर एभरेस्ट अस्पतालमा कार्यरत डा. ज्योत्सना शर्मा तिवारीको नियमित निगरानीमा उपचार गराइरहेकी थिइन् । २५ मंसिर २०८१ मा पेटको माथिल्लो भाग दुखेपछि उनी दिउँसो करिब २:१५ बजे एभरेस्ट अस्पताल पुगेकी थिइन् । उनलाई तत्काल इमर्जेन्सीमा भर्ना गरिएको थियो । साँझ ४:३० बजे सिजेरियन शल्यक्रियाका लागि अपरेसन थिएटर लगिएको र साँझ ५:१५ बजे छोरीको जन्म भएको अदालतले उल्लेख गरेको छ । अदालतका अनुसार मनितालाई पहिलेदेखि नै उच्च रक्तचाप (हाइपरटेन्सन) को समस्या थियो । गर्भावस्थामा उनलाई ‘सिभियर प्रि–इक्लेम्सिया’ देखिएको थियो । शल्यक्रियाअघि एनेस्थेसिया चिकित्सकले परीक्षण गर्दा उनको रक्तचाप १८०/११० रहेको अभिलेखमा उल्लेख छ । उच्च रक्तचाप नियन्त्रणका लागि उनलाई ल्याबेटालोल औषधि दिइएको थियो । तर, म्याग्नेसियम सल्फेट भने शल्यक्रिया सम्पन्न भएपछि मात्रै दिइएको अदालतले जनाएको छ । पीडित पक्षले अदालतमा दायर गरेको मुद्दामा सिभियर प्रि–इक्लेम्सिया भएका बिरामीलाई एक्लेम्सिया तथा ‘एचईएलएलपी सिन्ड्रोम’ जस्ता घातक जटिलता रोक्न शल्यक्रियाअघि नै म्याग्नेसियम सल्फेट दिनुपर्ने अन्तर्राष्ट्रिय उपचार मापदण्ड रहेको जिकिर गरेको थियो । तर प्रतिवादी चिकित्सकले शल्यक्रियाअघि औषधि नदिई अप्रेशन सम्पन्न गरेपछि मात्रै म्याग्नेसियम सल्फेट दिएका कारण बिरामीको अवस्था जटिल बनेको थियो । उनलाई सीपीआर समेत गरिएको थियो । ‘ज्यान जोखिममा रहेको अवस्थामा थप उपचारकालाई २६ मंसिरमा ह्याम्स अस्पताल रेफर गरेको पाइयो,’ फैसलामा भनिएको छ । त्यसपछि मनितालाई भेन्टिलेटरमा राखेर उपचार भयो । गर्भावस्थामा नै हेल्प सिन्ड्रोम र प्रि–एक्लाम्पसिया कारण भेन्टिलेटरमा सात दिनमा मनिताको मृत्यु भयो । प्रतिवादी एभरेस्ट अस्पताल र डा. तिवारीले भने उपचारमा कुनै लापरबाही नगरेको दाबी गर्दै प्रतिउत्तर दिएका थिए ।

* विज्ञले भने –

शल्यक्रियाअघि नै म्याग्नेसियम सल्फेट दिनुपर्थ्यो अदालतले चिकित्सा लापरबाही भएको वा नभएको यकिन गर्न विभिन्न विशेषज्ञ चिकित्सकको राय लिएको थियो । त्रिवि शिक्षण अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. सुनिता जोशी रावलले अदालतलाई दिएको रायमा ‘सिजेरियन शल्यक्रियाअघि नै म्याग्नेसियम सल्फेट दिएको भए अझ उपयुक्त हुने थियो’ भन्ने उल्लेख गरेकी छन् । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ डा. पुर्ण गुरुङले पनि सिभियर प्रि–इक्लेम्सिया तथा एक्लेम्सियामा म्याग्नेसियम सल्फेटको प्रयोग गर्नुपर्ने राय दिएका थिए । अदालतमा दिएको बकपत्रमा उनले त्यस्तो अवस्थाका बिरामीमा उक्त औषधि उपचारको स्थापित प्रक्रिया भएको बताएका थिए । विशेषज्ञ डा. रुपेशकुमार गानीले पनि अदालतमा दिएको बयानमा एक्लेम्सियामा म्याग्नेसियम सल्फेटको प्रयोग अनिवार्य हुने र जोखिमयुक्त प्रि–इक्लेम्सियामा समेत रोकथामका लागि प्रयोग गर्न सकिने बताएका थिए । अदालतले आफ्नो फैसलामा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ‘प्रि–इक्लेम्सिया तथा एक्लेम्सिया’ सम्बन्धी उपचार निर्देशिका समेत उल्लेख गरेको छ । फैसलाअनुसार डब्लूएचओको सिफारिसमा प्रि–इक्लेम्सियाबाट हुने जटिलता रोक्न म्याग्नेसियम सल्फेट प्रयोग गर्नुपर्ने स्पष्ट व्यवस्था छ । गम्भीर प्रि–इक्लेम्सियाका बिरामीलाई प्रसूति गराउनुअघि आवश्यक मात्रामा म्याग्नेसियम सल्फेट दिएर उपचार अघि बढाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेको अदालतले उल्लेख गरेको छ । डा. ज्योत्सना शर्मा तिवारी । प्रतिवादी डा. ज्योत्सना शर्मा तिवारीले शल्यक्रियाअघि म्याग्नेसियम सल्फेट नदिएको कारणबारे प्रतिउत्तरमा बिरामीमा ‘अत्यधिक रक्तस्राव’ लगायतका समस्या आउन सक्ने भएकाले औषधि नचलाइएको जिकिर गरेकी थिइन् । तर अदालतले स्वास्थ्य उपचारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रोटोकल, विशेषज्ञ चिकित्सकको राय र डब्लूएचओको गाइडलाइनको अध्ययनपछि त्यस्तो जिकिर पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ । फैसलामा सिभियर प्रि–इक्लेम्सियाको अवस्थाका बिरामीलाई शल्यक्रियाअघि नै म्याग्नेसियम सल्फेट दिनुपर्ने उपचार मापदण्ड रहेको उल्लेख गर्दै मनिताको हकमा त्यो पालना नगरिएको भनिएको छ । अदालतले दोष चिकित्सकमा मात्रै सीमित नरहेको पनि औंल्याएको छ । फैसलामा मनिता गर्भावस्थादेखि नै एभरेस्ट अस्पतालमा नियमित उपचाररत रहेकाले सम्भावित जोखिमको पूर्वानुमान गरी उच्च सतर्कतासहित उपचार व्यवस्थापन गर्नुपर्ने दायित्व अस्पतालको पनि रहेको उल्लेख गरिएको छ । यसबाहेक बिरामीको अवस्था जटिल बन्दै जाँदा विशेषज्ञ चिकित्सकबीच समन्वय, आवश्यक परामर्श, प्रभावकारी सूचना प्रवाह, उपचार व्यवस्थापन तथा संस्थागत जिम्मेवारी निर्वाहमा पनि अस्पताल चुकेको अदालतको निष्कर्ष छ । अदालतले महिला प्रजनन स्वास्थ्यजस्तो संवेदनशील सेवामा उच्च स्तरको सावधानी, गुणस्तरीय व्यवस्थापन र संस्थागत जवाफदेहिता अपेक्षित भए पनि एभरेस्ट अस्पतालले त्यसअनुसारको सेवा प्रवाह गर्न नसकेको उल्लेख गरेको छ । अदालतले उपचारमा संलग्न डा. ज्योत्सना शर्मा तिवारीले सिभियर प्रि–इक्लेम्सियाको अवस्थामा आवश्यक उच्च सतर्कता अपनाउन नसकेको तथा स्थापित उपचार प्रोटोकल पूर्ण रूपमा पालना नगरेको ठहर गरेको छ । यस्तै एभरेस्ट अस्पतालले चिकित्सक नियुक्ति, उपचार व्यवस्थापन, गुणस्तरीय सेवा, संस्थागत समन्वय र जिम्मेवार स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको भन्दै अस्पताललाई पनि उत्तरदायी ठहर गरिएको छ । त्यसअनुसार अदालतले डा. ज्योत्सना शर्मा तिवारीबाट ९ लाख रुपैयाँ तथा एभरेस्ट अस्पतालबाट ३० लाख रुपैयाँ गरी कुल ३९ लाख रुपैयाँ क्षतिपूर्ति पीडित परिवारलाई भराउन आदेश दिएको छ । साथै, क्षतिपूर्तिसम्बन्धी दाबीको बाँकी माग भने पुग्न नसक्ने ठहर अदालतले गरेको छ। * के थियो घटना ? घटना, २५ मंसिर २०८१ को हो । दिउँसो १ बजेको हुँदो हो, ४१ वर्षीय मनिताको पेटको माथिल्लो भागमा असह्य पीडा हुनथाल्यो । उनको पेटमा ३४ हप्ताको बच्चा हुर्किरहेको थियो । हतारहतार मनिताले डाक्टर ज्योत्सना शर्मालाई फोन डायल गरिन् तर उठेन । स्त्रीरोग विशेषज्ञ ज्योत्सनासँग मनिताले निरन्तर परामर्श लिंदै आएकी थिइन् । ज्योत्सनाले भनेकी थिइन् – केही समस्या परे फोन गरिहाल्नु । डाक्टर व्यस्त भएको ठान्दै उनले एसएमएस गरिन् – डा. प्लिज फोन उठाउनु न । मलाई धेरै गाह्रो भयो । कहाँ आउँ ? उनको पहिलो गर्भ पाँच महिनामै खेर गएको थियो । अब त्यस्तो नदोहोरियोस् भन्नेमा उनीहरू सचेत थिए । बच्चालाई केही पो हुने हो कि ! असाध्यै दुखाइपछि सुवास र मनिता अस्पतालतिर लागे । जाँदै गर्दा निरन्तर फोन हानिरहे । तर कुनै जवाफ आएन । पराजुली दम्पतीले नयाँबानेश्वरस्थित एभरेस्ट अस्पतालमा चेकजाँच गराइरहेका थिए । बस्न सहज र सुलभ हुने भएकाले डा. ज्योत्सनाकै सल्लाहमा बच्चा जन्माउने अस्पताल भने सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज रोजे । डा. ज्योत्सना काठमाडौं मेडिकल कलेज र एभरेस्ट अस्पतालमा कार्यरत छिन् । मेडिकल कलेजको गेटबाट भित्र छिरेपछि डा. ज्योत्सनाको फोन आयो। उनले एभेरेस्ट अस्पताल नै आउन र आफू पनि आउने आश्वासन दिइन् । पराजुली दम्पती हतारहतारमा एभरेस्ट तिर लागे । एभरेस्टको इमर्जेन्सीमा घण्टौं कुर्दा पनि डा. ज्योत्सना आइपुगिनन् । इमर्जेन्सी कक्षमा हुँदा अल्ट्रासाउन्ड र केही रगत परीक्षण भयो । त्यतिबेला मनिताको रक्तचाप १८०/१२० थियो । जुन एकदमै उच्च हो । सुवासका अनुसार अस्पताल पुगेको दुई घण्टापछि डा. ज्योत्सना आइपुगेकी थिइन् । केही समयपछि चिकित्सकले शल्यक्रिया गरे । मनिताले छोरीलाई जन्म दिइन् । तर मनिताको स्वास्थ्य अवस्था सुधार भएन । रक्तचाप उच्च नै थियो । त्यतिबेला सुवासले ज्योत्सनालाई प्रश्न गरेका थिए – ‘रक्तचाप उच्च हुँदा कसरी शल्यक्रिया गर्नुभयो ?’ ‘औषधि दिएपछि रक्तचाप सामान्य भयो, त्यसपछि शल्यक्रिया गरियो । तर बच्चा निकालेपछि भने प्रेसर हाई भएको छ’, त्यतिबेला डा. ज्योत्सनाको जवाफ थियो । केही समयपछि भने ज्योत्सनाले मनिता, मनिता, मनिता… भनिरहेको आवाज बाहिर सुनिएको सुवास बताउँछन् । त्यसलगत्तै डाक्टरले मनितालाई सिजर आएकाले औषधि दिएको र अवस्था सुधार भएन भने आईसीयूमा लैजानुपर्ने बताए ।

* सुवास पराजुली ।

सुत्केरी अवस्थामा हुने सिजर भन्नाले बच्चा जन्माएपछि महिलामा अचानक झट्का लाग्ने, बेहोस हुने, शरीर कक्रिने जस्ता लक्षण देखिनुलाई बुझिन्छ । यसलाई ‘पोस्टपार्टम प्रि–एक्लाम्पसिया’ भनिन्छ । केहीक्षणमै मनितालाई आईसीयूमा सारियो । सुवास पनि पछि–पछि गए । तर त्यतिबेलासम्म डा. ज्योत्सना अस्पतालबाट निस्किइसकेकी थिइन् । ‘जुन दुखाइ लिएर अस्पताल पुगेका थियौं, बच्चा निकालिसकेपछि पनि मनिताको पेटको माथिल्लो भागको दुखाइ उस्तै नै थियो’ सुवास भन्छन् । २६ मंसिरको दिउँसो साढे १ बजे अवस्था यति गम्भीर भयो कि मनितालाई सीपीआर दिनुपर्‍यो । बिहान १० र मध्याह्न १२ बजेको रिपोर्ट राम्रो नभएको र यसबारे अस्पतालले आफूलाई जानकारी नदिएको सुवास बताउँछन् । ‘डाक्टरलाई नै विश्वास गरेर एभरेस्ट अस्पतालमा लगेको थिएँ । किनकि दुई वर्षदेखि नै डा. ज्योत्सनाकै परामर्शमा बच्चालाई जन्म दिने निधो गरेका थियौं’ सुवास भन्छन्, ‘तर अवस्था गम्भीर भएपछि अन्य अस्पतालमा रेफर गर्न भनियो । त्यसबेला मात्रै डाक्टरले कलेजो फेल भइसकेको र मिर्गौलामा पनि असर परेको बताए । त्यसपछि परिवारले ह्याम्स अस्पताल लैजाने निधो गरे । जुन सल्लाह डा. ज्योत्सनाले नै दिएको सुवासको दाबी छ । ह्याम्स पुगेपछि थाहा भयो– गर्भावस्थामा नै हेल्प सिन्ड्रोम र प्रि–एक्लाम्पसिया भइसकेको रहेछ । जसले गर्भावस्थामा रगत जम्ने समस्या र कलेजोमा समेत असर गर्छ । ह्याम्समा भेन्टिलेटरमा राखेर उपचार भयो । चिकित्सकले भनेका थिए ‘जति अंगले छोडिसके त्यसलाई सुधार गर्न सकिंदैन । अब थप बिग्रिन नदिन मात्रै प्रयास गर्छौं ।’ तर सबै प्रयास व्यर्थ भयो । भेन्टिलेटरमा राखेको सात दिनपछि मनिताले प्राण त्यागिन् ।

यो पनि पढ्नुहोस श्रीमतीको मृत्युको कारण खोज्न काखे छोरी च्यापेर धाइरहेका सुवास

प्रकाशित : श्रावण ०१, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रेमीसँग मिलेर छोरीकै अगाडि श्रीमानको हत्या, प्रेमीलाई यसरी पठाइन् लाइभ लोकेसन : JCNEPALMEDIA

अवकाश पाइसकेको व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको पत्र : JCNEPALMEDIA

क्षमता भन्दा बढी कैदीबन्दी, धनकुटा कारागारको सुरक्षा र मानव अधिकारबारे इन्सेकको चिन्ता : JCNEPALMEDIA

क्षमता भन्दा बढी कैदीबन्दी, धनकुटा कारागारको सुरक्षा र मानव अधिकारबारे इन्सेकको चिन्ता : JCNEPALMEDIA

दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश : JCNEPALMEDIA

धनुषा सबैला नपा-१ का वडाध्यक्ष मियाँ पर स्त्रीसँग रँगेहात पक्राउ ,ज्यान जाेगाउन छतबाट हामफालेपछि खुट्टा भाँचिएको आरोप : JCNEPALMEDIA