रौतहट प्रहरीले एक वर्षमा ६९४ पक्राउ, ५ करोड तस्करी सामान बरामद, ८४७ किलो गाँजा र ४४८ फरार अपराधी पक्राउ : JCNEPALMEDIA

श्रावण ०४, २०८३ / जेसी नेपाल संवाददाता

रौतहट : सीमावर्ती जिल्ला रौतहटमा अपराध नियन्त्रण, लागूऔषध कारोबार, तस्करी र फरार अपराधीविरुद्ध प्रहरीले सञ्चालन गरेको अभियानको एक वर्षे तथ्यांक सार्वजनिक भएको छ।

सार्वजनिक विवरणले जिल्लामा अपराध नियन्त्रणका क्षेत्रमा उल्लेखनीय सफलता देखाए पनि तस्करी, लागूऔषध कारोबार र सवारी दुर्घटनाको चुनौती अझै गम्भीर रहेको संकेत गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२–८३ को वार्षिक समीक्षा सार्वजनिक गर्दै विभिन्न अभियोगमा ६ सय ९४ जना पक्राउ, ५ करोड ९२ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद, तथा ४ सय ४८ फरार प्रतिवादी पक्राउ गरिएको जनाएको छ। प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार एक वर्षमा १ हजार १ सय ५२ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ६ सय ८० मुद्दा फर्छ्योट भइसकेका छन् भने ४ सय ७२ मुद्दा अनुसन्धानकै चरणमा छन्। यस्तै, ४ हजार ८ सय ५० ठाडो उजुरी परेकामध्ये ४ हजार ३ सय ८० फर्छ्योट गरिएको छ भने बाँकी प्रक्रियामा रहेका छन्।

लागूऔषध कारोबारविरुद्ध कडा प्रहार प्रहरीले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै वर्षभरि ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरेको जनाएको छ। अभियानका क्रममा ८४७ किलो ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर, ४ हजार २ सय ६५ नशालु एम्पुल तथा १३ हजार ९ सय १६ लागूऔषधजन्य ट्याब्लेट बरामद गरिएको तथ्यांकले सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबारको गम्भीर अवस्था उजागर गरेको छ।

फरार अपराधीदेखि नक्कली नोटसम्म प्रहरीको निगरानी अदालतबाट सजाय तोकिएर फरार रहेका ४ सय ४८ प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै ६९ लाख ७१ हजार ८ सय ७४ रुपैयाँ जरिवाना असुल गरिएको छ। त्यसैगरी, अवैध हातहतियार नियन्त्रण अभियान अन्तर्गत ६ थान हतियार, ११ राउन्ड गोली बरामद गरी ३ जनालाई पक्राउ गरिएको छ। नक्कली मुद्रासम्बन्धी तीन मुद्दामा सात जनाविरुद्ध कारबाही अघि बढाइएको छ भने १ लाख ३६ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ। सीमावर्ती तस्करी अझै ठूलो चुनौती भारतसँग खुला सीमा जोडिएको रौतहटमा भन्सार छली अझै ठूलो चुनौतीका रूपमा देखिएको छ। एक वर्षमा १८ जनालाई पक्राउ गरी १ सय ५५ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ।

यस क्रममा ५ करोड ९२ लाख ५५ हजार ७ सय २१ रुपैयाँ बराबरका राजस्व छलीका सामान भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। यस्तै, स्रोत नखुलेको १३ लाख ६२ हजार २ सय रुपैयाँसहित चार जना पक्राउ, अवैध सालको काठ बरामद गरी ५ लाख ९५ हजार २ सय २५ रुपैयाँ राजस्व सङ्कलन, तथा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न ३० सवारीसाधन र तीन जना नियन्त्रणमा लिई २ लाख ५७ हजार ३ सय रुपैयाँ राजस्व उठाइएको छ। दुर्घटनाको डरलाग्दो तथ्यांक अपराध नियन्त्रणमा सफलता देखिए पनि सडक सुरक्षा भने चुनौतीपूर्ण देखिएको छ। आर्थिक वर्षभरि १ हजार ८८ सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ भने १ हजार ६ सय ९६ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार २ सय ५५ सवारीसाधनलाई कारबाही गर्दा १ करोड १ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा १ लाख ३३ हजार ७ सय ६४ सेवाग्राहीले विभिन्न प्रहरी सेवा प्राप्त गरेका छन्।

साथै, समुदायसँगको सम्बन्ध सुदृढ बनाउन सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत १ सय ५४ कार्यक्रम सञ्चालन गरिएको छ।यद्यपि सार्वजनिक गरिएको तथ्यांकले रौतहटमा अपराध नियन्त्रणमा प्रहरी सक्रिय देखिए पनि लागूऔषध, सीमापार तस्करी, सडक दुर्घटना र आर्थिक अपराध अझै चुनौतीकै रूपमा रहेको स्पष्ट संकेत गर्छ। सुरक्षा विश्लेषकहरूका अनुसार सीमा क्षेत्रमा आधुनिक निगरानी, अन्तरनिकाय समन्वय र स्थानीय समुदायको सहभागिता अझ प्रभावकारी बनाउन सके मात्र यस्ता अपराधलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न सकिनेछ।

प्रकाशित : श्रावण ०४, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पोखरा विश्वविद्यालय स्थापना दिवसकाे श्रमिक शान्ति क्याम्पसद्वारा साइबर सुरक्षामा एआई र सार्वभौम एआई सम्बन्धी कार्यशाला आयोजना

मृ´त्युपछि श´वगृहमा श व राखेबापत ३ प्रतिशत कर : JCNEPALMEDIA

देशभरका पालिका मध्ये मधेशका १२ पालिका सहित १७ पालिकाले आर्थिक कारोबार गर्न नपाउने : JCNEPALMEDIA

प्रेमीसँग मिलेर छोरीकै अगाडि श्रीमानको हत्या, प्रेमीलाई यसरी पठाइन् लाइभ लोकेसन : JCNEPALMEDIA

धनुषा सबैला नपा-१ का वडाध्यक्ष मियाँ पर स्त्रीसँग रँगेहात पक्राउ ,ज्यान जाेगाउन छतबाट हामफालेपछि खुट्टा भाँचिएको आरोप : JCNEPALMEDIA

आज साउने सङ्क्रान्ति पर्व स्नान, दान गरी मनाइँदै : JCNEPALMEDIA