बारा प्रहरीमा सरुवा ‘सेटिङ’ र तस्करी संरक्षणको आरोप, गृहमन्त्रीसम्म पुग्यो उजुरी : JCNEPALMEDIA

श्रावण १०,२०८३ / जेसी नेपाल संवाददाता बारा

जिल्लाको सीमा सिम्रोनगढ, मुशहर्वा, छतवा, मटिअर्वा, बलिरामपुर र पर्साका छपकैया, अलौं, सिरियी, अमरपट्टी क्षेत्र नाकाबाट हुने तस्करी कारोबार मोटरसाइकलको माध्यमबाट फस्टाएको खबर छ।

गृहमन्त्री सुदन गुरुङले सीमावर्ती नाकामा तस्करी नियन्त्रणका लागि निर्देशन दिए पनि तस्करीका गतिविधिहरू बढेको र प्रहरीको मिलेमतोमा अवैध व्यापार जारी रहेको छ। गृहमन्त्री गुरुङले सीमावर्ती नाकाहरू पर्सा, बारा, झापा, मोरङ र सुनसरी जिल्लामा अनुगमन एवं छड्के जाँच गरी काठमाडौं फर्किएको केही दिन नबित्दै जिल्लाको प्रमुख व्यापारिक शहरहरुमा अहिले तस्करीका धन्दा फेरि खुलेका छन् । अझ रोचक कुरा त के छ भने गृहमन्त्रीले कडाई गरेको भन्दै यसअघिको तस्करी लाइनको दररेट नै डबल गरिएको स्थानीय स्रोतले जनाएको छ । तर जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुवँर भन्छन्, “हामी संस्थागत वा छिटफुट भएपनि तस्करी गराउ भन्ने मनोविज्ञानमा छैनौं ।

अस्तिदेखि मैले पनि अब्जरभेसन गरेकै चिज हो कि नभएको चिजलाई पनि भयो भनेर अफवाह फैलाउने गर्छन् । अहिले कडाई गरिएको छ । बोर्डर टाइट भनेपछि टाइट...! औसी पूर्णिमा जस्तो आफैंले तस्करी गराउने अनि पक्राउ गर्ने मेरो चलन छैन् ।” फेरि हामीले मात्रै तस्करी गराएर सम्भव हुँदैन, किनभने उता पारी एसएसबी हुन्छ, यता नेपाल प्रहरी र सशस्त्र प्रहरी हुन्छ । बरु अलिकति भन्सार, छोटी भन्सार भएका ठाउँबाट अलिकति लिकेज हुनसक्छ । खुला सीमानाका कारण फुटपाथमा अलि रयान्डम केशमा पनि हामीले कडाईका साथ नियन्त्रण गरेको एसपी कुवँरको भनाई छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय बाराको कर्मचारी प्रशासन शाखाका सई प्रिन्स कुमार साहमाथि प्रहरी कर्मचारीहरुसँग रकम कलमको चलखेल गरी आन्तरिक सरुवा गर्ने गरेको गम्भीर आरोप लागेको छ । गत असार २१ गते बारा प्रहरीले निकालेको प्रहरी जवानदेखी वरिष्ठ प्रहरी हवल्दार र त्यसैगरी श्रावण ४ गते प्रहरीका असईदेखी वरिष्ठ प्रहरी नायव निरीक्षकसम्मको आन्तरिक सरुवामा आर्थिक बार्गेनिङ गरेको आरोप प्रहरी कर्मचारीले लगाएका हुन् । जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुवँर ले १३ प्रहरी जवान, २/२ प्रहरी सहायक हवल्दार, प्रहरी हवल्दार र एक वरिष्ठ प्रहरी हवल्दारसहित १४ असई तथा ३ सईसहित दुई वरिष्ठ सई गरी ३७ जना प्रहरी कर्मचारीको सरुवा निकालेको थियो ।

माथिको आदेश भन्दै प्रहरी कर्मचारीहरूसँग सई साहले बार्गेनिङ गर्ने, जसले पैसा दिन्छ उसलाई आकर्षक चौकीमा रमाना दिने नत्र नदिने, अझ स–सानो दर्जाका प्रहरीलाई लोभ देखाई भनेको जस्तै प्रहरी चौकी पठाउन सिफारिस गर्दिन्छु भनी प्रलोभनमा पार्ने जस्ता कार्य भएको प्रहरी स्रोतले जनाएको छ । प्रशासन शाखा हेर्ने जिम्मा पाएका सई साहले जुनियर प्रहरी अधिकारी तथा सिपाही हबल्दारको सरुवामा आर्थिक लाभ लिइएको आरोप छ । बारा जिल्ला प्रहरी कार्यालयको मातहतमा ५२ प्रहरी युनिटहरु रहेका छन् । ती मध्य अस्थायी प्रहरी पोस्ट १५, ईलाका प्रहरी कार्यालय (क) ६, ईलाका प्रहरी कार्यालय (ख) ५, प्रहरी चौकी १९, प्रहरी बिट, अदालत, प्रजिअ गार्ड, अस्पताल, एयरपोर्ट लगायत रहेका छन् ।

त्यसमध्य १३ वटा प्रहरी चौकीहरूको मात्र सरुवा निकालिएको छ। जुन सरुवा अधिकांश बार्गेनिङमा भएको स्रोतले जनाएको छ । तस्करीको प्रमुख नाका मध्ये पर्ने प्रहरी चौकी पथलैयामा वरिष्ठ हवल्दार रमेश प्रसाद कुर्मीलाई पठाइएको छ । कुर्मीको सिरहा जिल्लामा सरुवा भएको छ । तर, उनलाई हालसम्म रमाना दिइएको छैन । बरु प्रशासनका सईमार्फत सेटिङ मिलाएर पथलैयास्थित प्रहरी चौकीमा पठाइएको स्रोतको दाबी छ । उनी त्यहाँका ट्वाइसी हुन् । त्यस्तै प्राविधिक प्रहरीलाई समेत चौकीको इन्चार्जको रुपमा खटाइएको पाइएको छ। वरिष्ठ सई जय प्रसाद रिमालको दरबन्दी जिल्ला प्रहरी कार्यालय बाराको सञ्चार शाखा हो। तर, उनलाई अहिले इलाका प्रहरी कार्यालय कवही पठाइएको छ । उनी प्राविधिक प्रहरी हुन् । सञ्चार दरबन्दीका उनलाई इन्चार्ज दिन मिल्दैन। प्रहरी निर्देशिका अनुसार प्राविधिकका प्रहरीलाई इन्चार्ज दिन नमिल्ने प्रावधान रहेको छ। तर, बाराका एसपी नरेन्द्र कुँवरको ठाडो निर्देशनमा ती सबै निर्णयहरुलाई धोती लगाइदिएको छ र उनले बाहिरी दरबन्दीका प्रहरीलाई समेत इन्चार्ज र ट्वाइसीको रुपमा पठाएका छन् ।

यी त एक प्रतिनिधि उदाहरण मात्रै हुन्, यस्ता अनगिन्ती उदाहरण छन् बारा प्रहरी कार्यालयभित्र । सई साहले आकर्षक कमाई हुने प्रहरी चौकी र इलाका प्रहरी कार्यालयमा इन्चार्ज पठाउँदा पनि राम्रै रकम कलमको जोहो गर्ने गरेको आरोप प्रहरीहरू लगाउँछन् । केही दिन अघि भएको सरुवामा अतिरिक्त कमाई हुने चौकी, अस्थायी प्रहरी पोष्ट र इप्रकाको दररेट नै तोकेर सई र असई पठाइएको स्रोतको भनाई छ । त्यसमध्य सबैभन्दा बढी आर्थिक चलखेल हुने प्रहरी चौकी मध्य प्रहरी चौकी पथलैया, मर्टिअर्वा, मुर्सहर्वा, अमलेखगञ्ज लगायतमा १५ देखि २५ हजार रुपैयाँसम्म लिएर सरुवा गर्ने गरिएको स्रोतले जनाएको छ । अझ पहिले वरिष्ठ सई वा सई इन्चार्ज बस्ने त्यस्ता प्रहरी चौकी वा इलाकामा अहिले असईहरुबाटै काम चलाउन थालिएको छ । मधेश प्रदेशमा ६–६ महिनामा जुनियर प्रहरी अधिकृतहरूको चौकी इञ्चार्ज परिवर्तन गर्ने प्रचलन छ।उनीहरुलाई शुरुमा एकमुष्ट रकम कलम एवं मासिक दररेट तोकेरै पठाउने प्रचलन पुरानै हो । यस्तै तस्करी धन्दाको लाइन चल्ने त्यस्ता चौकी वा इप्रकामा जान चाहने सिपाही हबल्दारसँग पनि १०–२० हजार लिएर मात्र पठाइने गरेको एक पीडित प्रहरीले बताए ।

बारा जिल्लाभरी कुन पुलिसलाई कहाँ पठाउने, कसलाई कहाँ खटाउने भन्ने सेटिङ उनै सई साहले इन्स्पेक्टर प्रकाश खड्कासँग मिलेर गर्ने गरेको स्रोतको भनाई छ । सबै चौकी र इप्रका तथा अस्थायी प्रहरी पोष्टको इन्चार्जदेखि सिपाहीसम्मको आन्तरिक सरुवामा टेण्डर हुने गरेको छ । सई साहले हरेक सीमावर्ती चौकी र इप्रकाबाट मासिक दररेट नै तोकेर असुली धन्दा चलाएको प्रहरी स्रोतको दावी छ । आन्तरिक सरुवामा सई प्रिन्सका बारेमा एसपी कुवँरले भने, कसले त्यसो भन्यो भन्नुस् म कारबाही गरिहाल्छु । प्रोपोगाण्डा हामी प्रहरीमै धेरै हुन्छ । * प्राविधिकलाई चौकी इन्चार्ज, एसपीको भुमिका शंकास्पद ? प्राविधिक वरिष्ठ सई जय प्रसाद रिमाललाई ईलाका प्रहरी कार्यालय कबही पठाइएको छ । जिल्ला प्रहरी कार्यालय बाराको सञ्चार शाखा दरबन्दी भएका रिमाललाई ईलाका प्रहरी कार्यालय कवही पठाइएको हो। प्राविधिक प्रहरीमा चौकी इञ्चार्ज पाउने उनी एक्ला होइनन् । उनीसहित अन्य चार प्राविधिक प्रहरीलाई समेत चौकी इञ्चार्ज बनाइएको छ। जुन मापदण्ड विपरीत समेत हो।

श्रावण ४ गते जिल्ला प्रहरी कार्यालय बाराले निकालेको प्रहरीको आन्तरिक सरुवाका क्रममा अन्य प्राविधिक प्रहरीलाई समेत चौकीको इञ्चार्जका रूपमा जिम्मेवारी दिई पठाइएको खुल्न आएको छ। जिल्ला प्रहरी कार्यालय बारा सञ्चार दरबन्दी भएका अर्का प्राविधिक सई कृष्णनन्दन ठाकुरलाई ईलाका प्रहरी कार्यालय छतवा बाराको इन्चार्ज बनाइएको देखिन्छ । प्राविधिक प्रहरीका असई विनोद राउतलाई प्रहरी चौकी फत्तेपुर पठाइएको प्राप्त सरुवा सूचीमा उल्लेख रहेको छ। प्राविधिक प्रहरीलाई इन्चार्जको रुपमा पठाउन नमिल्ने प्रहरी नियममा उल्लेख रहेता पनि बाराका एसपी नरेन्द्र कुँवरको ठाडो निर्देशनमा प्रशासनले उनीहरूको पनि सरुवा निकालेको हो । सरुवा निकालेर पठाइएका तीनै इञ्चार्जहरु सबै आकर्षक चौकीका इन्चार्जहरु रहेका छन्। प्राविधिकलाई इन्चार्ज दिएको जिज्ञासामा बर्कफोर्समा दरबन्दी पेरिज हुन्छ, कुनै इलाका प्रहरी कार्यालय वा चौकी भएका ठाउँमा मुकाम हुन्छ , त्यस मातहत धेरै ठाउँमा अस्थायी प्रहरी चौकी वा पोष्ट छन् तिनमा सई असईहरु राख्नु पर्ने हुन्छ ।

त्यस्ता ठाउँमा राखिएको हो सञ्चार दरबन्दीलाई राख्नै नमिल्ने भन्ने छैन, आन्तरिक रुपमा पठाउने गरेको एसपी कुवँरले बताए । * कसलाई कहाँ ? सई बहादुर प्रसाद यादवलाई प्रहरी चौकी गञ्जभवानीपुर बारा, असईहरु मन्दीप कुमार कार्कीलाइ प्रहरी चौकी बड्कीफुलवारीया, वीरेन्द्र प्रसाद यादवलाई ईलाका प्रहरी कार्यालय सिहोर्वा बारा, वीरेन्द्र कुमार साहलाई प्रहरी चौकी देवताल बारा, राजेश दास बानियाँलाई अस्थायी प्रहरी पोष्ट झुरझुरे बारा, अमरेन्द्र मण्डललाई अस्थायी प्रहरी पोस्ट रतनपुरी र असई शेष सम्जानलाई अस्थायी प्रहरी पोष्ट इनर्वासिमरा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराको कर्मचारी प्रशासन शाखाले जनाएको छ। त्यस्तै सिपाही, हवल्दारको सरुवामा समेत उत्तिकै बेथिति रहेको पाइएको छ। मातहतको ५२ प्रहरी युनिटमध्ये १३ वटा युनिटको मात्र सरुवा भएको पाइएको हो । असार २१ गते तल्लो दर्जाका प्रहरीहरूको सरुवा सूचीमा प्रहरी वरिष्ठ हवल्दार रमेश कुमार कुर्मी, सहायक हवल्दार पदमबहादुर झाँक्री र तुलसीराम खनाललाई प्रहरी चौकी पथलैया पठाइएको देखिन्छ । जबकी माथि उल्लेखित यी दुवै प्रहरीको दरबन्दी अन्यत्र जिल्ला रहेको पाइएको छ । प्रहरी सहायक हवल्दार खनालको प्रहरी चौकी बहुअर्वा सर्लाही र वरिष्ठ प्रहरी हवल्दार कुर्मीको इलाका प्रहरी कार्यालय सम्मनपुर रौतहट दरबन्दी रहेको देखिन्छ ।

उल्लेखित प्रहरीद्वयलाई दरबन्दीमा रमाना गर्नुको सट्टा बाराका एसपी नरेन्द्र कुँवरले दुवै प्रहरीलाई आकर्षक प्रहरी चौकी अर्थात् प्रहरी चौकी पथलैया पठाएको देखिन्छ । * गृह मन्त्रालयमा उजुरी, निष्पक्ष छानबिनको माग जिल्ला प्रहरी कार्यालय बाराको मातहत रहेको प्रहरी चौकीको सरुवाका क्रममा सेटिङ गरिएको तथा प्राविधिक प्रहरीलाई चौकी इञ्चार्ज दिएको, अन्यत्र दरबन्दी भएका प्रहरीलाई रमाना नगरी आकर्षक प्रहरी चौकीमा पठाइएको जस्ता विषयमा हेलो सरकारमा गुनासो परेको छ । प्रहरी स्रोतबाट परेको यो उजुरी तथा गुनासोको सम्बन्धमा पीडित प्रहरीले आफूहरूले पैसा तिर्नुपरेको समेत दाबी गरिएको छ। प्रहरीको सरुवा निष्पक्ष रुपमा हुनुपर्नेमा कर्मचारी प्रशासन शाखाका प्रहरी नायव निरीक्षक प्रिन्सकुमार शाह मार्फत सेटिङ गरिएको समेत उल्लेख गरिएको छ । एक प्रहरीले आफू प्रहरी चौकी पथलैयामा जाँदा १५ हजार रुपैयाँ तिरेर जानु परेको समेत गुनासो गरेका छन् । त्यति मात्र होइन बाहिर दरबन्दी भएका प्रहरीलाई चौकीको ट्वाइसीका रुपमा खटाइएको छ, प्राविधिक दरबन्दी रहेका प्रहरीलाई चौकीको इञ्चार्जको रूपमा जिम्मेवारी दिएको, जिल्ला प्रहरी कार्यालय बाराको मातहत ५२ वटा प्रहरी युनिट रहेता पनि १३ वटा प्रहरी चौकीहरूको मात्रै तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको सरुवा भएको जस्ता गुनासोमा उल्लेख गरिएको छ।

कतिपय चौकीहरूको समय अवधि पुगेको भए पनि सरुवा नगरिएको, आकर्षक प्रहरी चौकीको मात्र कसरी सरुवा सम्भव भयो भनेर समेत गुनासोमा उठाइएको छ । गुनासोमा अन्य मातहतका प्रहरी कार्यालयहको सरुवा नहुने र आकर्षक प्रहरी चौकीको मात्र छानीछानी सरुवा सम्भव कसरी भयो ? भनेर समेत प्रश्न उठाइएको छ । साथै गुनासोका सम्बन्धमा तालुक कार्यालयबाट छानबिन हुनुपर्ने, प्रहरी जवानदेखि वरिष्ठ प्रहरी नायब निरीक्षकसम्मको गरिएको सरुवामा संशोधन हुनुपर्ने, दरबन्दी बाहिर रहेका प्रहरीलाई रमाना गर्नुपर्ने तथा प्राविधिक प्रहरीलाई फिर्ता बोलाई निष्पक्ष रूपमा मातहतका अन्य प्रहरी कार्यालयको समेत सरुवा नियमसंगत रुपमा हुनुपर्ने लगायतका विषयमा गुनासोकर्ताले गृहमन्त्रीको समेत ध्यानाकर्षण गराएको बुझिएको छ।

प्रकाशित : श्रावण १०, २०८३ July 26,2026

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनले गरे मन्त्रीहरुलाई प्रशन ? देशका ठूला सहरमा डाेजर चले तर जनकपुरमा कहिले ? : JCNEPALMEDIA

मधेशमा महिला हिंसाकाे वृद्धि , सयाैं घटना दर्ता : JCNEPALMEDIA

सीजेपीका दुई मागमा भारत सरकार सकारात्मक, शिक्षामन्त्रीको राजीनामाबारे निर्णय हुन बाकी : JCNEPALMEDIA

आठ लाख भन्दा बढी घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ : JCNEPALMEDIA

धनुषाधाम नपा ५ वडा सदस्य महताेले किसान मल नपाएर हाहाकार रहेको वेला अन्य ठाउँमा विक्री गर्न लैजाँदै गर्दा पक्राउ, ४०० बोरा मल बरामद : JCNEPALMEDIA

वाङचुकलाई केन्द्रीय मन्त्री जेपी नड्डा र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्रले जुस पिलाएर अनशन तोडाए : JCNEPALMEDIA