प्रधानमन्त्री बालेनले गरे मन्त्रीहरुलाई प्रशन ? देशका ठूला सहरमा डाेजर चले तर जनकपुरमा कहिले ? : JCNEPALMEDIA

साउन १०,०८३ / जेसी नेपाल संवाददाता

जनकपुरधामका अतिक्रमित गुठी जग्गा, पोखरी र मठ–मन्दिर क्षेत्र खाली गराउने विषयमा प्रधानमन्त्री बालेन शाहले चासो बढाएका छन् । मन्त्रिपरिषद्का बैठकमा उनले भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज (गनेश) पौडेलसँग पटक–पटक ‘जनकपुरमा डोजर कहिलेदेखि चल्छ ?’ भन्ने प्रश्न गर्ने गरेको स्रोतले जनाएको छ ।

सरकारका एक मन्त्रीका अनुसार प्रधानमन्त्री शाहले अतिक्रमण हटाउने काममा ढिलाइ नगर्न निर्देशन दिँदै सबै क्षेत्रमा एकैपटक अभियान सञ्चालन गर्न जोड दिइरहेका छन् । सम्बन्धित मन्त्रीहरूले भने प्रक्रिया अगाडि बढिसकेको र कतिपय स्थानमा बस्तीसमेत परेकाले चरणबद्ध रूपमा काम गर्नुपर्ने अवस्था रहेको जानकारी गराउने गरेका छन् ।

प्रधानमन्त्री शाहले गत माघ ५ गते जनकपुरधाममा आयोजित कार्यक्रममा जनकपुरका पोखरी, मठ-मन्दिर, पाटीपौवा र सार्वजनिक जग्गा संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसयता उनले जनकपुरलाई ‘सफा र व्यवस्थित’ बनाउने अभियानलाई प्राथमिकतामा राख्दै आएका छन् । यसैबीच भूमि व्यवस्था मन्त्रालयको निर्देशनमा गुठी संस्थानले जनकपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका राजगुठीका पोखरी, पोखरीका डिल तथा मठ-मन्दिर आसपासका अतिक्रमित संरचना सात दिनभित्र स्वेच्छाले हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । उक्त सूचनामा विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्नसागर पोखरी, मुरली सर, दीर्घिका सर, गोडधोई पोखरीलगायतका क्षेत्र उल्लेख गरिएको थियो ।

सरकारले असार २४ गते गुठी संस्थानका तत्कालीन गुठी प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा नौ सदस्यीय कार्यान्वयन समिति गठन गरी बृहत्तर जनकपुर क्षेत्रभित्रका गुठी जग्गा संरक्षण तथा अतिक्रमण हटाउने जिम्मेवारी दिएको थियो । समितिले साउन १ गते सूचना जारी गर्दै सात दिनभित्र जग्गा खाली गर्न आग्रह गरेको भए पनि म्याद सकिँदासम्म अतिक्रमण हटाउने काम सुरु हुन सकेको छैन । यसबीच समितिका संयोजक रहेका घिमिरेको सरुवा भई नयाँ गुठी प्रशासक सैलेशराज कुँवर नियुक्त भएपछि प्रक्रिया केही ढिलो भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषा र गुठी संस्थान शाखा कार्यालय धनुषाले पनि म्याद सकिएपछि माथिल्लो निकायबाट थप निर्देशन प्राप्त नभएको जनाएको छ ।

गुठी संस्थानका प्रवक्ता जनक पोखरेलले भने अतिक्रमणकारीले स्वेच्छाले संरचना नहटाए आगामी चरणमा कानुनी प्रक्रिया अनुसार डोजर चलाइने बताए । यद्यपि, त्यसको मिति भने अझै तय नभएको उनले बताएका छन् । जनकपुरधामका ऐतिहासिक पोखरी, मठ–मन्दिर र गुठी जग्गामा वर्षौंदेखि भइरहेको अतिक्रमण हटाउने सरकारी अभियान अहिले पुनः चर्चामा आएको छ । प्रधानमन्त्री शाहको सक्रिय चासोपछि अब जनकपुरमा अतिक्रमण हटाउने अभियानले गति लिने अपेक्षा गरिएको छ।

प्रकाशित : साउन १०,०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA

चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान : JCNEPALMEDIA