भारतको इनर्जी एक्सचेन्जबाट विद्युत् किन्न सुरु

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केट (आईईएक्स) बाट विद्युत् किन्न सुरु गरेको छ । विद्युत् खरिदकर्ता र बिक्रीकर्ताबीचको प्रस्तावबाट मूल्य तय हुने यो बजारबाट विद्युत् खरिदका लागि खरिदकर्ताले अघिल्लो दिन नै मूल्य र खरिद गर्ने विद्युत्को परिमाण प्रस्ताव गर्नुपर्छ ।

प्राधिकरणले शुक्रबार राति १२ देखि १ बजेसम्म २ सय ५० मेगावाट किन्ने, राति १ देखि शनिबार दिउँसो ६ बजेसम्म २ सय मेगावाट विद्युत् किन्ने र साँझ ६ देखि १२ बजेसम्म २ सय ५० मेगावाट विद्युत् खरिद गर्ने गरी प्रस्ताव हालेको थियो । इनर्जी एक्सचेन्ज बजारमा हरेक १५–१५ मिनेटका लागि विद्युत् खरिद गर्न पाउने व्यवस्था छ ।

प्राधिकरणले पहिलो दिन खरिद गर्न प्रस्ताव गरेको सबै विद्युत् प्राप्त गर्ने भएको प्राधिकरणका ऊर्जा व्यापार विभागका निर्देशक प्रबल अधिकारीले जानकारी दिए । प्राधिकरणले विद्युत्बापत प्रतियुनिट औसत मूल्य (मार्केट क्लियरिङ प्राइस) ३.२९ भारु परेको उनले बताए । यो मूल्यमा ट्रान्समिसन शुल्क, आवेदन शुल्क, जीएसडी चार्ज र व्यापार कम्पनीको व्यावसायिक शुल्क गरी ०.५२ भारु थप गर्दा प्रतियुनिट लागत मूल्य ३.८१ पर्ने अधिकारीको भनाइ छ । विद्युत् खरिद सम्झौताअनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट विद्युत् आयात गर्दा प्राधिकरणले प्रतियुनिट भारु ४.१८ तिर्दै आएको थियो । एक्सचेन्ज बजारको मूल्य तुलना गर्दा यो विद्युत् प्राधिकरणलाई प्रतियुनिटमा भारु ०.३७ सस्तो परेको छ । प्राधिकरणलाई ५१ लाख ५० हजार युनिटबापत भारु १९ लाख ५ हजार ५ सय (३० लाख ४८ हजार ८ सय रुपैयाँ) बचत भएको अधिकारीले जानकारी दिए । मे र जुनभर यसैगरी हरेक दिन आवश्यक परिमाण विद्युत् खरिद गर्ने योजना रहेको उनको भनाइ छ ।

इनर्जी एक्सचेन्जबाट खरिद गरिएको विद्युत् ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल भित्र्याइएको हो । यही प्रसारण लाइनबाट नेपालले भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) सँग किनेको विद्युत् पनि भित्रिन्छ ।

यो अन्तरदेशीय प्रसारण लाइनमार्फत ३ सय ५० मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न मिल्छ ।निगमसँग विद्युत् खरिदका लागि प्राधिकरणले गरेको सम्झौता जुन महिनामा सकिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अर्थमन्त्री र सचिवहरू बीच कार्यसम्पादन करार सम्झौता JCNEPAL_MEDIA

समृद्ध मधेस प्रदेशका लागि मुख्यमंत्री सिंहले गरे प्रधानमन्त्रीलाई आग्रह #JCNEPAL_MEDIA

कमला नगरपालिकाले चलाउन सकेन बजेट JCNEPAL_MEDIA

आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न योजना बनाउन सुरु : अर्थमन्त्री पुन

करदातालाई प्रोत्साहित र कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन 

अन्तरदेशीय रेलमार्ग निर्माणले लिएन गति : नेपाल-भारत