देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

साउन ३०,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : देशभरका प्रहरी कार्यालय, हिरासत कक्ष र सोधपुछ हुने स्थानहरूमा अनिवार्य रूपमा अडिओ-भिडिओ रेकर्डिङसहितको ‘नाइट भिजन’ सीसीटिभी क्यामेरा जडान गर्न माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले शुक्रबार उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीहरूका नाममा सो आदेश जारी गरेको हो । उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाइएको छ । अदालतले विपक्षीहरूलाई सार्वजनिक विदाबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ ।

साथै, मुद्दाको गाम्भीर्यलाई मध्यनजर गर्दै यसलाई प्राथमिकताका साथ हेर्न अग्राधिकार समेत प्रदान गरिएको छ । नेपाल ल क्याम्पसका विद्यार्थीहरू विवेक चौधरी, विकास यादव र रोशन आउजीले बिहीबार दायर गरेको रिटमा पक्राउ परेको क्षणदेखि नै प्रहरीले ‘बडी वर्न क्यामेरा’ (शरीरमा जडान गरिने क्यामेरा) प्रयोग गर्नुपर्ने, हिरासतको फुटेज कम्तीमा १८ महिनासम्म सुरक्षित राख्नुपर्ने र त्यसलाई अदालतमा डिजिटल प्रमाणका रूपमा स्वीकार गर्नुपर्ने माग गरिएको छ । हिरासतभित्र हुने मानव अधिकार उल्लङ्घन, यातना र शङ्कास्पद मृत्युका घटना रोक्न तथा फौजदारी न्याय प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन यो कानुनी पहल गरिएको निवेदकहरूले उल्लेख गरेका छन् ।

यसअघि सर्वोच्चले अभियुक्तको बयान लिँदा सम्भव भएसम्म भिडिओ रेकर्डिङ गर्न र गम्भीर प्रकृतिका फौजदारी मुद्दामा यसलाई अनिवार्य गर्न निर्देशनात्मक आदेश दिएको थियो । तर, त्यतिले मात्र पर्याप्त नहुने भन्दै पक्राउ प्रक्रियादेखि नै पूर्ण रूपमा डिजिटल निगरानी हुनुपर्ने माग निवेदकहरूको छ ।

प्रकाशित : साउन ३०, २०८३          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA

२ किशोरीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा २ युवक पक्राउ : JCNEPALMEDIA