आईजीपी कार्कीले पत्रकारलाई गालीगलौजसहित धम्क्याएको भन्दै भाइरल अडियोको वास्तविकता ? : JCNEPALMEDIA

भदौ ०१,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एक पत्रकारबिच भएको भनिएको विवादास्पद टेलिफोन कुराकानीको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पूरा सन्दर्भ र पात्रहरूको पहिचान स्पष्ट नखुल्ने उक्त अडियोले नयाँ तरङ्ग सिर्जना गरेको हो । ५ मिनेट १५ सेकेन्ड लामो अडियोमा आईजीपी कार्कीले पत्रकारलाई धम्क्याएको र आपत्तिजनक शब्द प्रयोग गरेको आरोप लागेको छ भने पत्रकारले आफ्नो समाचारको स्रोत खुलाउन अस्वीकार गरेको जस्तो सुनिन्छ । यो अडियो २९ साउन २०८३ का दिन 'ताण्डव नेपाल' नामक फेसबुक पेजबाट सार्वजनिक भएको हो । डिजिटल फरेन्सिक दृष्टिले हेर्दा, यो फेसबुक पेज अडियो सार्वजनिक भएकै दिन खोलेको पाइएको छ । अडियो सार्वजनिक भएपछि अन्य कयौं प्रयोगकर्ता र पेजबाट समेत यसलाई रिपोस्ट र शेयर गरिएको छ ।

अडियोमा आईजीपी भनिएका व्यक्तिले पत्रकारलाई ‘तँलाई टुंगोमा पुर्‍याइदिन्छु’, ‘घरबाटै घिसार्छु’, ‘घर बिगार्दिन पनि सकिन्छ’ जस्ता धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । संवादका क्रममा प्रहरीले आफ्नो श्रीमतीलाई फोन गरेर व्यक्तिगत जीवनमा दखल दिएको भन्दै ती पत्रकारप्रति तीव्र आक्रोश व्यक्त गरेको सुनिन्छ । उनले पत्रकारलाई 'सूचनाको स्रोत कहाँबाट पायौ ?' भन्दै दबाब दिएका छन्, जसमा पत्रकारले 'म समाचार लेख्ने मान्छेले सूचनाको स्रोत हजुरलाई भन्ने हैन' भन्ने जवाफ दिएका छन् । अडियोमा पत्रकारको नाम 'कृष्ण' वा 'किस्ने' भनेर सम्बोधन गरिएको सुनिए पनि उनको पूर्ण पहिचान र आबद्धता स्पष्ट हुन सकेको छैन । यस घटनालाई लिएर सामाजिक सञ्जालमा जनमत विभाजित देखिएको छ ।

कतिपयले राज्यको उच्च सुरक्षा निकायको प्रमुख पदमा बसेको व्यक्तिले प्रयोग गरेको भाषा र दिएको धम्कीलाई 'राणा शासन' को झल्को दिने भन्दै प्रेस स्वतन्त्रतामाथिको प्रहारका रूपमा चित्रण गरेका छन् । अर्कोतर्फ धेरैजसोले पत्रकारले व्यक्तिको निजी जीवन र परिवारलाई तानेर पत्रकारिताको मर्यादा उल्लङ्घन गरेको र आईजीपीलाई बदनाम गराउन नियोजित रूपमा 'फेक अडियो' सार्वजनिक गरेको दाबी गरेका छन् । अडियोको आधिकारिकता, यो कुन सन्दर्भमा रेकर्ड गरिएको हो र यसमा दाबी गरिएका विषयमा कुनै समाचार प्रकाशित भएको थियो वा थिएन भन्ने विषयमा हालसम्म कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई आवाज परिवर्तन गरिएको वा नियोजित रूपमा सिर्जना गरिएको 'डिजिटल प्रपोगान्डा' हुनसक्ने आशङ्का व्यक्त गर्दै साइबर ब्युरोमार्फत छानबिनको माग समेत गरेका छन् । यो प्रकरणले नेपाली पत्रकारितामा समाचारको स्रोत संरक्षण र सुरक्षा अधिकारीहरूको सार्वजनिक जवाफदेहीताका विषयमा प्रश्न खडा गरिदिएको छ ।

प्रहरी प्रधान कार्यालयले अडियोको विषयमा 'बुझ्नैपर्ने' प्रतिक्रिया मात्र दिएको छ । सम्बद्ध निकायबाट यसबारे सत्यतथ्य छानबिन नभएसम्म यो अडियोको विश्वसनीयताका बारेमा अन्योल कायमै रहने देखिन्छ ।

प्रकाशित : भदौ ०१, २०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु : JCNEPALMEDIA

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA