चापाकल खरिदमा अनियमितता गरेको आरोपमा ११ जनाविरुद्ध मुद्दा : JCNEPALMEDIA

भदौ ०१,२०८३ / जेसी नेपाल संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिदमा अनियमितता गरेको आरोपमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । खरिद प्रक्रियालाई विभाजन गरी प्रतिस्पर्धा सीमित गर्ने र आपूर्तिकर्तासँग मिलेमतो गरी भुक्तानी दिइएको पाइएको छ ।

दोषीमाथि जरिवाना, कैद तथा बिगो असुलउपरको मागदाबी गर्दै आपूर्तिकर्ता कम्पनीलाई पनि कानुनबमोजिम सजाय माग गरिएको छ । काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाले ह्याण्डपम्प तथा ट्युबवेल (चापाकल) खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको पाइएको आयोगले जनाएको छ । एउटै वस्तुको खरिदलाई पटकपटक विभाजन गरी आपूर्तिकर्तासँग मिलेमतो गरी भुक्तानी दिइएको आयोगको अनुसन्धानबाट खुलेको जनाएको छ । आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नीलाम्बर मिश्र मैथली र तत्कालीन लेखापाल विजयकुमार यादवविरुद्ध जनही रु ३६ लाख १३ हजार ३१ बराबरको बिगो माग दाबी गरिएको छ ।

यस्तै, तत्कालीन इन्जिनियर सन्तोषकुमार यादव र तत्कालीन सब–इन्जिनियर विपिनकुमार मण्डलविरुद्ध जनही रु २० लाख ४९ हजार ४५० तथा तत्कालीन जिन्सी शाखा प्रमुख शिवशङ्कर यादवविरुद्ध रु १५ लाख ६३ हजार ५८१ बिगो कायम गरी आरोपपत्र दायर गरेको छ । त्यस्तै, तत्कालीन योजना शाखा प्रमुख गङ्गाराम यादवविरुद्ध रु ३६ लाख १३ हजार ३१ बिगो कायम गरिएको छ । आयोगले अनियमिततामा संलग्न रहेको आरोपमा विभिन्न आपूर्तिकर्ता तथा सञ्चालकविरुद्ध पनि बिगो र सोहीअनुसारको सजाय मागदाबी गरेको छ ।

लीला आयरन स्टोर्सका प्रोप्राइटर विनयकुमार यादवविरुद्ध रु पाँच लाख ३४ हजार ८७६, डिएम जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर दूधनाथ कुमरविरुद्ध रु ११ लाख ८९ हजार ४७१ बिगो माग दाबी गरिएको छ । यस्तै, श्रीराम इन्टरप्राइजेजका प्रोप्राइटर अमरनाथ कुमरविरुद्ध रु २ लाख २० हजार १९७, जैसवाल निर्माण सेवा (सिर्जना ट्रेडर्स)का प्रोप्राइटर रामबाबु चौधरीविरुद्ध रु सात लाख नौ हजार ६२३ र क्वालिटी सोलुसन कम्पनी प्रालिका प्रबन्ध निर्देशक मनोजकुमार यादवविरुद्ध रु सात लाख ११ हजार ९०० बिगो कायम गरिएको छ ।

आयोगले राष्ट्रसेवक कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम तथा आपूर्तिकर्ताविरुद्ध सोही ऐनको दफा २२ बमोजिम मतियारका रूपमा कसुर गरेको आरोपमा जरिवाना, कैद तथा बिगो असुलउपरको मागदाबी गरेको छ ।

प्रकाशित : भदौ ०१, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

आईजीपी कार्कीले पत्रकारलाई गालीगलौजसहित धम्क्याएको भन्दै भाइरल अडियोको वास्तविकता ? : JCNEPALMEDIA

जिल्ला कारागार मोरङमा आज बिहानैबाट खानतलासी सुरु : JCNEPALMEDIA

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA