बलात्कार घटनामा ८ बर्ष अघि ‘गलत’ मेडिकल रिपोर्ट दिने डा.बिजय सिँह र डा. रम्भा गोईतलाई ३ महिना कैदसहित २० हजार जरिवाना : JCNEPALMEDIA

भदाैं०९,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : यौनजन्य अपराधसम्बन्धी घटनामा बलात्कार नभएको भन्दै गलत स्वास्थ्य परीक्षण प्रतिवेदन तयार पारेको ठहर गर्दै जनकपुरधामका दुई चिकित्सकलाई कैद र जरिवानाको फैसला भएको छ ।

उच्च अदालत जनकपुरधामले चिकित्सकद्वय डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई जनही ३ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । करिब आठ वर्षअघि धनुषाको जनकनन्दिनी गाउँपालिका–२, खजुरीमा १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा उनीहरूले तयार पारेको स्वास्थ्य परीक्षण प्रतिवेदन विवादमा परेको थियो । चिकित्सकद्वय सिंह र गोइतले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनमा बालिकामाथि बलात्कार भएको कुनै लक्षण वा पहिचान नदेखिएको उल्लेख गरिएको थियो ।

तर पीडित पक्षले उक्त प्रतिवेदनप्रति असन्तुष्टि जनाएपछि अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय खजुरीले बालिकाको पुनः स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा गराएको थियो । उक्त परीक्षणबाट भने बलात्कार भएको देखिने प्रतिवेदन आएको थियो । एकै घटनामा दुई फरक मेडिकल रिपोर्ट आएपछि चिकित्सकद्वयको भूमिकामाथि अनुसन्धान अघि बढेको थियो । यसक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको थियो भने फौजदारी कसुरसम्बन्धी मुद्दा नेपाल सरकारको तर्फबाट जिल्ला अदालतमा दायर गरिएको थियो ।

जिल्ला अदालतले विवादास्पद मेडिकल रिपोर्टलाई आधार बनाउँदै चिकित्सकद्वयलाई पुर्पक्षका लागि जलेश्वर कारागार पठाएको थियो । उनीहरू जनही २० हजार रुपैयाँ धरौटी बुझाएर दुई दिन थुनामा बसेपछि हाजिरी जमानीमा रिहा भएका थिए । यस घटनामा नेपाल मेडिकल काउन्सिलले समेत छानबिन गरेको थियो । चिकित्सक सिंह खत्रीको नेतृत्वमा गठित छानबिन समितिले बलात्कार भएको पुष्टि गर्दै चिकित्सकद्वयको चिकित्सकीय व्यावसायिक भूमिकामाथि समेत कारबाही गरेको थियो ।

काउन्सिलको छानबिन प्रतिवेदन तथा जिल्ला अस्पताल सिरहाबाट आएको मेडिकल रिपोर्टलाई आधार मानेर विशेष अदालतले चिकित्सकद्वयलाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । विशेष अदालतको फैसलामा चित्त नबुझेपछि डा. सिंह र डा. गोइतले उच्च अदालत जनकपुरधाममा पुनरावेदन गरेका थिए । सोही पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र मेघराज पोखरेलको संयुक्त इजलासले असार १८ गते फैसला सुनाएको हो । उच्च अदालतले विशेष अदालतको फैसला उल्टाउँदै दुवै चिकित्सकलाई जनही ३ महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

फैसलाअनुसार यसअघि पुर्पक्षका क्रममा थुनामा बसेको दुई दिन कैदमा कट्टा गरिनेछ । बाँकी कैद असुल गर्न सम्बन्धित जिल्ला अदालतमा लगत पठाउनसमेत आदेश दिइएको छ । विशेष अदालतको आदेशअनुसार उनीहरूले राखेको जनही २० हजार रुपैयाँ धरौटी रकमबाटै जरिवाना असुल गर्न उच्च अदालतले आदेश दिएको छ । पुनरावेदनका क्रममा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ बमोजिम राखिएको जनही ५९ हजार रुपैयाँ नगद धरौटी भने कैद सजाय पूरा भएपछि कानुनी म्यादभित्र माग भए प्रमाणका आधारमा फिर्ता गर्न आदेश दिइएको छ । चिकित्सकलाई कैद तथा जरिवानाको फैसला सुनाउँदै

उच्च अदालतले नेपालको चिकित्सा–कानुनी प्रणालीको सुधारमा समेत गम्भीर प्रश्न उठाएको छ । अदालतले चिकित्सा–कानुनी परीक्षण तथा प्रतिवेदनको विश्वसनीयता, गुणस्तर र एकरूपता सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगलाई सुधारात्मक निर्देशन दिएको छ ।

प्रकाशित : भदौ ०९, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सुनचाँदीको मूल्य घट्यो : JCNEPALMEDIA

६१ वर्षीया महिलालाई बलात्कार आरोपमा पक्राउ परेका युवक ‘जेनजी’ आन्दोलनमा फरार कैदी : JCNEPALMEDIA

प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक : JCNEPALMEDIA

सप्तरीमा तीन वर्षीया बालिका घर नजिकै मृत फेला : JCNEPALMEDIA

अख्तियारका तत्कालीन एसपीको मनपर्दि, संगठित अपराधको मिसिलमा अर्थसचिवदेखि पत्रकारसम्मको मोबाइल नम्बर : JCNEPALMEDIA

जनकपुरधाममा पोखरीको डिलमा चल्यो बालेनको डोजर , पहिलो चरणमा ५० पोखरी खाली गराइँदै : JCNEPALMEDIA