भोटेकोशी बाढीमा मृत्यु भएका शव व्यवस्थापन गर्न जटिल : JCNEPALMEDIA

भदौ १३,२०८३ / जेसी नेपाल संवाददाता

चितवनको नारायणी र त्रिशूली नदी किनारमा फेला परेका शवहरू व्यवस्थापनमा जटिलता देखिएको छ। भरतपुर अस्पतालमा २४ शवको क्षमता हुँदा २३३ शव आएकाले व्यवस्थापनमा चुनौती बढेको छ।

शव व्यवस्थापनमा कठिनाइ हुँदा संक्रमणको खतरा बढेको भन्दै, चिकित्सकहरूले सचेत रहनुपर्ने बताएका छन्। चितवन- यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ । नारायणी र त्रिशूली नदी किनारमा मानवसहित पशु चौपायाका शव र अङ्ग फेला परेका छन् । यस्ता शव उचित ठाउँ व्यवस्थापन गर्न कठिन भएको जनाइएको छ । नदी किनारबाट शव एम्बुलेन्समार्फत् ल्याइएको छ । भरतपुर अस्पतालमा ल्याइएका शवलाई टेन्टमुनि राख्नुपर्ने बाध्यता छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले शवलाई कुहिने र गन्हाउने समस्या आउन नदिन विशेष चनाखो अपनाउनु पर्ने बताए।

उनले भने “यस्तो अवस्थामा पानीजन्य सङ्क्रमणको जोखिम रहन्छ ।” भरतपुर अस्पतालमा शवको सरसफाई गरी अनुहारको तस्बिर लिने, शरीरमा भएका कुनै चिह्नको पहिचान गर्ने र नम्बर लगाएर औद्योगिक विकास प्रतिष्ठानको कार्यालयमा बनाइएको अस्थायी शव गृहमा राख्ने गरिएको छ । यसको व्यवस्थापन जटिल हुँदा नदीमा फेला परे लगत्तै शव ल्याउन कठिन भएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगाले शव व्यवस्थापन गर्न समस्या भएको बताउँछन्। अस्पतालसँग केवल २४ शव राख्ने ठाउँ भएको जनाउँदै अहिले २३३ शव आएको बताए । तीमध्ये चार जनाको पहिचान भएको छ ।

पहिचान हुनेमा रसुवाका मदन थापा मगर, भुवन थापा मगर, बाँकेका कबिरलाल चौधरी र नुवाकोटका रामकाजी पौडेल छन् । यहाँ ठाउँ अभावमा शवगृह बाहिर टेन्ट राखेर शवहरु राखिएका छन् । भरतपुर अस्पतालमा भर्ना भएका बिरामी निजी अस्पताल र मेडिकल कलेजले निःशुल्क रूपमा बाँडेर उपचार गरिदिए आफूलाई शव व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ ।

उनले भने, “बिरामी पनि हेर्नुपर्ने र थोरै जनशक्तिमा शवको व्यवस्थापन पनि गर्नुपर्दा समस्या भएको छ ।” प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा बगालेले भने, “शव गृह नजिक रहेका भवनका बिरामीलाई बढी प्रभावित हुन नदिन सचेत छौँ ।” कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)का नेफ्रोलोजिष्ट डा माधव घिमिरे शवको व्यवस्थापन छिटोभन्दा छिटो गर्नुपर्ने बताए । यस्तो अवस्थामा झाडापखालादेखि फोक्सोसम्मको सङ्क्रमणको जोखिम फैलिन सक्ने उनी बताउँछन्।

प्रकाशित : भदौ १३, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA