दुई आईजीपी बीच सम्बन्धमा दरार,औपचारिक बाहेक बाेलचाल बन्द : JCNEPALMEDIA

भदौ १८,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल एकै ब्याचका इन्स्पेक्टर हुन् । १८ चैत २०५४ मा उनीहरु दुवै जनाले नेपाल प्रहरीको इन्स्पेक्टरमा नाम निकालेका थिए ।

उनीहरुले सेवा प्रवेश गरेका बेला देशमा माओवादी द्वन्द्व सुरु भइसकेको थियो । तालिम पश्चात उनीहरु दुवै जनाले द्वन्द्वग्रस्त क्षेत्रमा खटिएर काम पनि गरे । माओवादी द्वन्द्व चरमकोत्कर्षमा पुगेपछि तत्कालीन सरकारले माओवादीसँग लड्न भन्दै २०५८ सालमा नयाँ फोर्स गठन गर्‍यो, सशस्त्र प्रहरी बल । दानबहादुर कार्की नेपाल प्रहरीमै रहे भने नारायणदत्त पौडेल सशस्त्र प्रहरी बलतर्फ लागे । यही ब्याचका राजु अर्याल पनि सशस्त्र प्रहरी बलतर्फ लागे ।

उनी अहिले अवकाश भइसकेका छन् । अर्याल अवकाश भएपछि १९ बैशाखदेखि सशस्त्रको कमाण्ड पौडेलले सम्हालिरहेका छन् । २०५४ को इन्स्पेक्टर टोली निकै भाग्यमानि पनि देखियो । एकै ब्याचबाट एउटा आईजीपी हुँदै आएकोमा यो ब्याचबाट राजु अर्याल, नारायणदत्त पौडेल र दानबहादुर कार्कीसम्म तीन आईजीपी भए । उनीहरुबीच निकै हार्दिकता पनि थियो । समन्वय गरेर काम गर्ने, छलफल गर्ने, एकले अर्कोलाई प्रतिस्पर्धी भन्दा पनि सहयोगी भएर काम गर्ने चलन उनीहरुबीच थियो । आईजीपी भएपछिका केही समय उनीहरुबीच निकै राम्रो सम्बन्ध थियो ।

तर अहिले पछिल्लो समय भने प्रहरीका आईजीपी कार्की र सशस्त्रका आईजीपी पौडेलबीचको सम्बन्धमा भने दरार आएको छ । औपचारिक कार्यक्रममा बोलचालबाहेक उनीहरुसँग अहिले पहिलाको जस्तो हार्दिकताको सम्बन्ध छैन । कुनै समय सँगै तालिम गरेर जागिर खाएका उनीहरुबीच अहिले भने किन सम्बन्धमा दरार आयो ? यो प्रश्नको उत्तर थाहा पाउन २७ साउनको सार्वजनिक लेखा समितिको बैठकमा पुग्नुपर्छ । सार्वजनिक लेखा ससितिमा रास्वपाका सांसद खगेन्द्र सुनार निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले म्यादी प्रहरीको पोशाक खरिदमा भ्रष्टाचार भएको भन्दै बर्दी नै फुकाल्न लगाएर तत्कालै छानबिनको कठघरामा आईजीपीलाई ल्याउनुपर्ने भन्दै झोक्किएका थिए ।

राजु अर्यालदेखि दानबहादुर कार्कीसम्मलाई कठघरामा ल्याएर छानबिन गर्नुपर्ने उनको माग थियो । म्यादी प्रहरीको पोशाक खरिदमा भ्रष्टाचार भएको, आईजीपीको घरबाटै ३ करोड नगद चोरी भएको जस्ता गम्भीर आरोप लगाएका थिए । उनको प्रस्तुति पनि निकै आक्रामक र दोषी करार गर्ने किसिमको रहेको भन्दै त्यसबेला आलोचना समेत भएको थियो । पोशाकमा भ्रष्टाचार भएको विषय सांसद सुनारले उठाएरपछि कुनै पनि भ्रष्टाचार नभएको र छानबिनका लागि सहयोग गर्न तयार भएको भन्दै सशस्त्र आईजीपी पौडेलले जवाफ फर्काएका थिए ।

माग गरेअनुसार कागजात उपलब्ध गराउन तयार भएको भन्दै जस्तोसुकै छानबिनका लागि तयार भएको भनेर छोटो बोलेर आईजीपी पौडेलले आफ्नो कुरा टुंग्याएका थिए । तर प्रहरीका आईजीपी कार्कीले भने करिब ४५ मिनेट लामो भाषण हान्दै चेतावनीसमेत दिएका थिए । ‘प्रहरीलाई घिसार्छु भन्नेले नै नैतिकताको पाठ सिकाउन थालेको’ भन्दै ‘हामी कस्ताबाट शासित हुँदैछौं’ भन्ने जवाफ सांसद सुनारलाई फर्काएका थिए । नेमिङ, फेमिङ, ब्लेमिङ लगाउन हामीलाई पनि आउँछ, कसका उजुरी कहाँ छन्, ती उजुरीका फाइल हामीले पनि खोल्नुपर्ने हो भन्ने आशयमा आईजीपी कार्कीले चेतनावनी दिएका थिए । आईजीपी पौडेल नम्र रुपमा प्रस्तुत भएर जवाफ फर्काउँदा आईजीपी कार्की भने निकै आक्रामक रुपमा प्रस्तुत भएका थिए । पछि यही विषयलाई कार्की र पौडेलबीचको सम्बन्धमा दरार आएको जानकारहरुको बुझाइ छ । दोषी करार गर्न खोज्दै आधार र प्रमाणबिना त्यत्रो आरोप लगाउँदा समेत कडा रुपमा प्रतिवाद गर्दै प्रस्तुत नभएको भन्दै आईजीपी कार्की सशस्त्र आईजीपी पौडेलसँग झोक्किएको स्रोत बताउँछ ।

तर पोशाक खरिदको गर्दा पौडेल भने सशस्त्रका आईजीपी थिएनन् । त्यही भएर पनि उनी स्वभाविक रुपमा कार्की भन्दा नम्र भएर प्रस्तुत भएको हुनसक्ने आकलन गरिन्छ । यही विषयलाई लिएर अहिले यी दुई आईजीपीबीचको सम्बन्ध नै पहिलाको जस्तो सुमधुर नरहेको जानकारहरु बताउँछन् । कुनै समय सशस्त्रका आईजीपी कोषराज वन्त र उपेन्द्रकान्त अर्यालबीच पनि बोलचाल नै बन्दको अवस्था थियो । त्यतिबेला भने कार्यक्षेत्रको विषयलाई उनीहरुबीच पानी बाराबारको अवस्था थियो । बेला–बेलामा फरक सुरक्षा निकायबीच मतभेद देखिँदै आएको छ । कहिले काहि कुनै अपरेशनविषयमा समेत फरक सुरक्षा निकायका अधिकारीबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको देखिन्छ ।

प्रकाशित : भदौ १८, २०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरका सिद्धार्थ शिशु सदन माविले रसुवा बाढी पिडतका लागि गरे २ लाख ५१ हजार सहयोग : JCNEPALMEDIA

औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर : JCNEPALMEDIA

आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि : JCNEPAL MEDIA

रसुवाका बाढी प्रभावितलाई PAPAYA लगायत गलफ समाज ,फिक्रे नेपाल र ईस्लामिक फाउन्डेसन संस्था द्वारा ४ लाखभन्दा बढीको खाद्यान्न सहयोग : JCNEPALMEDIA

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा : JCNEPALMEDIA

विद्युत अफिसका हाकिम यादव ५१ हजार रुपैयाँ घुससहित रँगेहात पक्राउ : JCNEPALMEDIA