८४ वटा सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री

काठमाडौं। आसन्न निर्वाचन लक्षित गरी प्रेस काउन्सिल नेपालले गरेकोे आचारसंहिता विशेष अनुगमनमा ८४ वटा सञ्चार माध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको पाइएको छ ।काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेदेखि मंगलबार बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमन र उजुरीको दायरामा रहेकामध्ये ८४ सञ्चार माध्यममा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको जनाएको हो ।विज्ञप्तिअनुसार अनुगमन भएकामध्ये १५ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, २० वटा रेडियो, ४४ वटा अनलाइन, ५ वटा वेबपोर्टलले यस्ता सामग्री सम्प्रेषण गरेका हुन् । काउन्सिलले ४ वटा सञ्चार माध्यमलाई उजुरी र बाँकी सबैलाई स्वअनुगमनका आधारमा विभिन्न पत्राचार गरिएको जनाएको छ ।‘६ वटालाई निर्देशन, ४६ वटालाई ध्यानाकर्षण, १८ वटालाई सचेत र ११ वटालाई स्पष्टीकरण सोधिएको त्यस्तै दर्ता/सूचीकरण नभएका ५ वटा न्युज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको, ३ वटा अनलाइन मिडियालाई फोनमार्फत ध्यानाकर्षण गराइएको र मिडियाअन्तर्गतको केही सामाजिक सञ्जाललाई उजुरीका आधारमा ध्यानाकर्षण गरिएको छ’ काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको दिन मङ्सिर ४ नजिकिँदै जाँदा सरकारी र निजी दुवै क्षेत्रका सञ्चार माध्यममा आचारसंहिता उल्लङ्घनका नयाँ नयाँ प्रवृत्तिहरू देखिएको काउन्सिलले जनाएको छ ।सरकारी सञ्चार माध्यमको दुरुपयोग गर्दै कुनै दल तथा उम्मेदवारको विषयमा मात्र एकपक्षीय रूपमा सामग्री सम्प्रेषण गरेको बारेमा परेको उजुरीउपर सुनुवाइ गरी काउन्सिलले नेपाल टेलिभिजनसँग ‘भिडियो फुटेज’ का लागि पत्राचार गरी सो सम्बन्धमा अनुगमनसमेत गरिरहेको छ ।यसैबीच कुनै दलका उम्मेदरवारलाई लक्षित गरी प्रकाशित ‘हाते पर्चा’ उकालो डटकममा प्रकाशन भएको उधृत गर्दै प्राप्त उजुरी र प्रकाशित सामग्रीबारे अध्ययन–अनुगमन भइरहेको र उकालो डटकमलाई सचेत गराइसकिएको काउन्सिलले जनाएको छ ।काउन्सिलले निर्वाचनमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई वर्गीकरण/मूल्याङ्कनका साथै लोककल्याणकारी भुक्तानीका लागि आधारको रूपमा लिनेगरी अभिलेखीकरण गर्ने निर्णय भएको भन्दै सबै प्रावधानतर्फ विशेष ध्यान दिइ समाचार, विज्ञापन सम्प्रेषण गर्नगराउन सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका प्रयोगकर्तालाई ध्यानाकर्षण गराएको छ ।यसैबीच काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला मतदाताका लागि सञ्चार माध्यम झन् बढी जिम्मेवार र भरोसायोग्य बन्नुपर्ने बताए  । ‘यस्तो बेला मिडियाका विषयवस्तु सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय हुनुपर्छ । पक्षधरता लिनै हुँदैन । जे हो त्यो प्रस्तुत गर्न सकेन भने मिडियालाई पत्याउँदैनन’, अध्यक्ष बस्नेतले भने–‘निश्चित विधि, प्रक्रिया र आधारबिनाको सर्वेक्षणले एउटा समाचार त बन्ला तर त्यो कतिको विश्वसनीय हुन्छ भन्ने प्रश्न चाहिँ उठिरहन्छ ।’अध्यक्ष बस्नेतले मिडियाप्रति आम नागरिकको भरोसा बढाउनकै लागि संयमित र सन्तुलित हुनु जरुरी रहेको औँल्याए ।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA