दुर्घटनाबारे अनावश्यक भ्रम नफैलाउन आग्रह: नेपाल नागरिक उडडयन प्राधिकरण - JC NEPAL MEDIA

माघ २,२०७९ जेसी नेपाल संवाददाता काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका सञ्चालित सबै एटीआर-४२ र एटीआर-७२ जहाजमा कुनै प्राविधिक त्रुटि नदेखिएको जनाएको छ । आइतबार यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेपछि प्राधिकरणले सबै जहाजको परीक्षण गरिएको जनाएको छ । प्राधिकरणले वायुयानको नियमित उडान योग्यताका लागि दैनिक गरिने दैनिक निरीक्षण, उडानपूर्व गरिने निरीक्षण, निश्चित अन्तरालमा गरिने 'सेड्युल इन्सपेक्सन' जस्ता मर्मत सम्भारका कार्यहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन को मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीका मापदण्डबमोजिम गर्ने गरिएको पनि बताएको छ । यती एयरलाइन्सको विमान दुर्घटनापश्चात् प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुबाट नेपालमा सञ्चालित सम्पूर्ण एटीआर-४२ र एटीआर-७२ वायुयानहरूको थप विस्तृत प्राविधिक परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको पनि प्राधिकरणले जनाएको छ। परीक्षणका क्रममा उपरोक्त वायुयानहरूमा कुनै प्राविधिक त्रुटि फेला नपरेको प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् । आइतबार बिहान १०:३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो । ७२ जना सवार विमानमा अहिलेसम्म ६९ मृत शरीर जम्मा गरिएको छ भने ३ जनाको खोजी कार्य जारी रहेको छ । "अनावश्यक भ्रम नफैलाउन आग्रह" त्यस्तै प्राधिकरणले आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ । दुर्घटनाका सम्बन्धमा प्राधिकरण केही उच्चपदस्थ पूर्वकर्मचारी तथा अन्य व्यक्तिबाट भएको टिकाटिप्पणी तथा अभिव्यक्तिका कारण सर्वसाधारणमा भ्रम फैलिएको प्राधिकरणले जनाएको छ । प्रवक्ता जगन्नाथ निरौलाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, दुर्घटनाका सम्बन्धमा प्राधिकरणका केही उच्च पदस्थ पूर्वकर्मचारी तथा अन्य व्यक्तिहरूबाट विभिन्न सामाजिक सञ्जाल, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनलगायतका सञ्चारमाध्यममा दिइएका धारणा, टिकाटिप्पणी तथा अभिव्यक्तिहरुका कारण सर्वसाधारणमा भ्रम सिर्जना हुन गएको प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ । दुर्घटना, खोज तथा उद्धारका सम्बन्धमा सर्वसाधारणको जानकारीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय समेत) मार्फत प्राप्त हुने सूचना तथा जानकारीलाई मात्र आधिकारिक मान्न पनि प्राधिकरणले आग्रह गरेको छ । दुर्घटनाको छानबिनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले तोकेको मापदण्ड र सिफारिस तथा गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७४ बमोजिम नेपाल सरकारबाट उच्चस्तरीय जाँचबुझ आयोग गठन भई कार्य प्रारम्भ भइसकेको पनि प्राधिकरणले जनाएको छ ।

प्रकाशित : माघ २,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मोटरसाईकल दुर्घटनामा परी दुई युवकको मृत्यू, एक घाईते JCNEPAL_MEDIA

धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA

धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA

संघीयताकाे सवलिकरण सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न : मधेस प्रदेशJCNEPAL_MEDIA

राष्ट्रिय अभियानीले सलहेश फुलवारीमा फुल्ने फुलेको गरे अवलोकन : सिरहा

सिमा क्षेत्र मलिवारामा लागुऔषध दुर्व्यसन बिरूधकाे जनचेतना कार्यक्रम गरे सम्पन्न : अभियानी जगदीश चाैधरी