जहाज दुर्घटनामा मृत्यु भएका डा दम्पतीको सेती नदीमा सामूहिक दाहसंस्कार - JC NEPAL MEDIA

माघ ८,२०७९ जेसी नेपाल संवाददाता

पोखराको सेती खोंचमा जहाज दुर्घटनामा मृत्यु भएका डा दम्पतीको सेती नदीमा सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई शव बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आइतबार उनीहरूको सामूहिक दाहसंस्कार गरिएको हो ।

काठमाडौंबाट पोखरा आउने क्रममा जहाज दुर्घटनामा परी पोखरा–४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा सुशील श्रेष्ठ, उनकी श्रीमती डा सोना श्रेष्ठ र १५ महिने छोराको निधन भएको थियो ।

सेती नदीमा आइतबार डाक्टर दम्पतीलाई एउटै चितामा दागबत्ती दिइएको छ भने नाबालक छोराको व्रतबन्ध भइनसकेका कारण सेती नदीको किनारमा गाडिएको छ । सुशीलका बुबा मदनकाजी विभिन्न रोग र परिवारको चिन्ताका कारण किरिया बस्न सक्ने अवस्था नहुँदा एक ब्राह्मणलाई किरिया बस्न लगाइएको छ । तीन जनाकै शव क्षतविक्षत अवस्थामा थिए ।

डा सुशील दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए । डा सोना पनि एमडी गर्दै थिइन् । डा सुशीलले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए ।

शोकमा डुबेको परिवारलाई सान्त्वना दिन आज मदनकाजी श्रेष्ठको घरमा थुप्रै छिमेकी जम्मा भएका थिए । मदनकाजी श्रेष्ठ नेकपा (समाजवादी) पार्टीका सल्लाहकारसमेत हुनुहुन्छ । परिवारको निधनका कारण मदनकाजीको आँखामा आँसु आठ दिनदेखि थामिएको छैन ।

घरमा शव ल्याएपछि बुबा मदनकाजीलाई सम्हाल्नै नसकिएको छिमेकी कृषमान पालिखेले सुनाए । सुशीलकी आमा पनि परिवारको सम्झनाले मुर्छित अवस्थामा छिन् । विभिन्न रोगसँग लड्दै आएका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दुर्घटनाले परिवारमा परेको बज्रपातले झनै कमजोर बनाएको छ । उनका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सोती खोंचमा भएको जहाज दुर्घटनामा परेर निधन भएको हो ।

परिवारसँग बसेर खुसीसाथ माघे संक्रान्ति मनाउने सपना बोकेर काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटीआर दुर्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा सुशील श्रेष्ठ,बुहारी डा सोना र १५ महिने नाबालक नातिको सपना अधूरै बन्यो ।

आँखामा राखे पनि नबिझाउने, अनुशासित डा सुशील, उहाँकी पत्नी र छोराको निधनले गाउँ नै शोकमा डुबेको छ । सबैलाई सम्मान र अनुशासित व्यक्तिको निधनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ,पालिखेले भने । भुल्छु भन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिनँ ।

प्रकाशित : माघ ८,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनमत पार्टीका निलम्बित केन्द्रीय कोषाध्यक्ष यादव ठगी मुद्दामा पक्राउ : JCNEPAL MEDIA

गँगासागरको डीलमा रामनारायण मिश्रको समाधीस्थल निर्माण कार्य रोक्का गर्न उच्च अदालतको अन्तरिम आदेश : JCNEPAL MEDIA

सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देन र शाही प्रहरी नियन्त्रणमा : JCNEPAL MEDIA

निर्मल निवासमा पूर्वराजासँग राप्रपा नेताहरूको `शुक्रबारे कचहरी´ : JCNEPAL MEDIA

राप्रपा प्रदर्शनमा घुसपैठ हुने डरले शिक्षकहरु बिहानै गरे आन्दोलन : JCNEPAL MEDIA

एक भारतीय विद्यार्थीको गोली हानी हत्या : क्यानडा JCNEPAL MEDIA