सीडीओ र प्रहरी प्रमुख हटाइए, डीएसपीसहित ३ जना निलम्बन : बालकुमारी घटना

पुष १५, २०८०/ जेसी नेपाल संवाददाता

काठमाडौं : ललितपुरको बालकुमारीमा शुक्रबार दुई जना युवकको ज्यान जानेगरी भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ ।

यस्तै, तीन जनालाई निलम्बन गरिएको छ । गृह मन्त्रालयले ललितपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय र ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालयमा फिर्ता बोलाएको हो । घटना भएको भोलिपल्ट शनिबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीबीच भएको छलफलमा प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने निर्णयअनुसार शाह र पण्डितलाई फिर्ता बोलाइएको हो । यस्तै, घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक (असई) बोधराज दनुवारलाई निलम्बन गरिएको छ ।

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई पनि निलम्बन गरिएको छ । घटना छानबिनलाई वस्तुनिष्ठ बनाउन सुरक्षा, प्रशासन, ईपीएस र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका व्यक्तिगत सुरक्षा अधिकारीलाई जिम्मेवारीबाट हटाउने र निलम्बनको निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ । बालकुमारीमा रहेको ईपीएस शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा मन्त्री ज्वाला चढेको गाडीमा आगजनी भएको थियो । सो आगजनीपछि प्रहरीले गोली चलाउँदा अछामका वीरेन्द्र शाह र दैलेका सुजन राउतको मृत्यु भएको थियो । सो घटना छानबिन गर्न गृह मन्त्रालयले शुक्रबार नै समिति गठन गरेको थियो ।

गृह मन्त्रालयका प्रवक्ताले शनिबार जारी गरेको विज्ञप्तिमा छानबिनका क्रममा अधिकारीलाई जिम्मेवारीबाट हटाइएको उल्लेख छ । छानबिन समितिले काम गरिरहेको हुँदा छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि सोबमोजिम कार्यान्वयन गरिने भएकाले छानबिन समितिको कामलाई वस्तुनिष्ठ बनाउन घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरिएको , विज्ञप्तिमा भनिएको छ, ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय सम्बन्धित मन्त्रालयबाट भएको छ ।

साथै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ । यस दुःखद घटनाका सन्दर्भमा गृह मन्त्रालय अत्यन्त संवेदनशील रहेको छ र सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछ । सबै नागरिकले आफ्ना विषयहरू शान्तिपूर्ण रूपमा राख्न पाउने अधिकारको सुनिश्चितता प्रदान गर्न सरकार निरन्तर लागि परिरहेको व्यहोरा सम्बद्ध सबैमा मन्त्रालय अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । बालकुमारी घटनाको विषयमा गृह मन्त्रालय संवेदनशील रहेको पनि विज्ञप्तिमा उल्लेख छ । सो घटनालाई लिएर शनिबार बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।

बैठकमा घटनाकाे बारेमा गम्भीर रूपमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शार्माले बताइन् । केही न केही कमजोरी भएर नै घटना भएको छ । त्यसै कारण हाललाई छानबिन नटुंगिएसम्म गोली चलाउन आदेश दिने डीएसपी, मन्त्रीका पीएसओ र उपसचिवलगायतका कर्मचारीलाई निलम्बन गरिएको छ,मन्त्री शर्माले भनिन् । शुक्रबार पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका, तर फेल भएका युवाले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसैक्रममा प्रहरीसँगको धरपकडमा दुई युवकको मृत्यु भएको थियो ।

घटनापछि शुक्रबारै सरकारले सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् । मृतकका परिवारलाई १०–१० लाख रुपैयाँललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवकका परिवारलाई सरकारले १०–१० लाख रुपैयाँ राहत दिने भएको छ ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले घटनामा घाइते भएकाहरूको उपचार खर्च सरकारले बेहोर्ने भन्दै शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । साथै बैठकले घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गरी कारबाही गर्ने र भविष्यमा यस्ता घटना हुन नदिने निर्णय समेत गरेको छ

प्रकाशित : पुष १५,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

राजधानीकै ठूला पसलमा तस्करीको सुन : काठमाडौं JCNEPAL_MEDIA

खुशी - विरेन्द्रक यात्रा कथाकाे आवरण सार्वजनिकीकरण कार्यक्रम सम्पन्न JCNEPAL_MEDIA

अवैध सालको गोलिया काठसहित सफारी गाडी बरामद JCNEPAL_MEDIA

उपप्रम एवं सहरी विकासमन्त्री सिंह र भारतका राजदूत नवीन श्रीवास्तव बीच शिष्टाचार भेटवार्ता JCNEPAL_MEDIA

साउनदेखि ड्राइभिङ लाईसेन्सको सट्टा राष्ट्रिय परिचय पत्र JCNEPAL_MEDIA