डाक्टर कर्णको कारागारको समय अस्पताल बसेरै बित्यो : विराटनगर

समाचार - माघ ५,२०८० माघ ७,

 

२०८० / जेसी नेपाल मिडिया विराटनगर : नवजात शिशु बेचेको कसुरमा पक्राउ परेका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णलाई उच्च अदालतल विराटनगरले धरौटीमा छोड्न आदेश दियो ।

बिहीबार उच्चले विराटनगर महानगरपालिका-२ तीनपैनी घर भएका ६८ वर्षीय डा. कर्ण र उनीसँग यही कसुरमा पुर्पक्षका लागि थुनामा गएका सूर्यनारायण राजवंशीलाई जनही एक–एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो । मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालाशले उनीहरूलाई धरौटीमा छोड्न आदेश गरेको हो ।

गत असोज २४ गते मोरङ अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालशले कर्ण, राजवंशी र गोविन्द राईलाई पुर्पक्षको लागि जेल चलान गरेको थियो । तर, उच्चले एकै कसुरका कर्ण र राजवंशीलाई धरौटीमा छोड्दा शिशुका बाबुसमेत रहेका राईको हकमा भने थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको जिल्ला अदालतका उपरजिष्ट्रार टिकेन्द्रवीरजंग राणाले जानकारी दिए ।

भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीया प्रेमिकाको सम्बन्धबाट असार १४ गते विराटनगरको ग्रिनक्रस अस्पतालमा शिशु जन्मिएकी थिइन् । नर्मल डेलिभरी मार्फत् सामान्य अवस्थामा शिशुको जन्म भएको थियो । तर, नाताभित्रकै युवतीसँगको सम्बन्धबाट जन्मिएकी शिशुको व्यवस्थापनको जिम्मा गोविन्दले डा. कर्णलाई दिए ।

आमासँगै हुनुपर्ने ती शिशु नर्सले लिएर गए । सोही दिन अस्पतालबाट डिस्चार्ज गराएर गोविन्दले आफ्नी प्रेमीकालाई इटहरीस्थित एक होटलमा राखे । बच्चाबारे सोध्दा उपचार हुँदैछ भन्ने जबाफ दिएका गोविन्द होटल पुगेको दुई दिनपछि बेपत्ता भए । आफूले जन्माएको छोरी र प्रेमी गायब भएपछि उनले ३२ साउनमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिइन् । अनुसन्धानका क्रममा डा. कर्णले शिशुलाई कटहरी गाउँपालकिा–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख गरिएको थियो ।

अस्पतालका कर्मचारीको सहयोगमा डा. कर्णले निःसन्तान दम्पतीलाई शिशु बेचेका थिए । अवैध सम्बन्धबाट जन्म भएको बच्चा भनेर कर्णले उक्त बच्चा व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएका थिए । मोरङ प्रहरीले उनीसहित अपराधमा संलग्न सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । तर, पक्राउ परेकामध्ये ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई मुद्दा नचलाउने निर्णय भएको थियो । प्रहरीले डा. कर्णसहित ६ जनाविरुद्ध मानव बेचविखन, संगठित अपराध र मानव तस्कर गरी तीनवटा मुद्दा चलाएको थियो । जिल्ला अदालतबाट डा. कर्ण, शिशु खरिद गर्ने राजवंशी र शिशुका बाबु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका थिए भने सहयोगी तीन जना धरौटीमा रिहा भएका थिए ।

मोरङको कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी दुई लाख, सिराहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीया नर्स निर्मला यादव एक लाख र ४७ वर्षीया दिलमनीदेवी राजवंशी १० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । पुर्पक्षमा रहेका कर्ण र चौधरीले जिल्लाको आदेश बदरको माग राख्दै ७३ नम्बर गरेका थिए । थुनाको समय अस्पतालमै बच्चा बेचेको आरोप लागेपछि मोरङ प्रहरीले डा. कर्णलाई भदौ १ गते पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर, बिरामी भएको बाहाना बनाउँदै उनी हिरासतको अधिकांश समय अस्पतालमै बसे । मोरङ प्रहरीले उनलाई हिरासत–अस्पताल डुलाइरह्यो । सुगर र प्रेस अनियन्त्रित भएको भन्दै उनले कोशी अस्पतालको २१२ नम्बरको सिंगल क्याबिन छोड्न मानेनन् ।

मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जन दाहालका अनुसार डा. कर्णको हिरासतको समय पनि अस्पतालमै बितेको थियो । घटना सतहमा आएपछि बयानका लागि हामीले उहाँलाई ल्याउने तयारी गरेका थियौं, त्यसबेला उहाँ दुइटा अपरेसन सकेर बस्नुभएको रहेछ, उनले भने : प्रहरीलाई देख्नेबित्तिकै बिरामी भएर ढल्नुभएछ । अर्को दिन उहाँलाई बयानका लागि ल्याएका बेला पनि अस्पताल पु¥याउने–ल्याउने गर्यौं तर नियमित ल्याउनु–लैजानुपर्ने भएका कारण प्रहरीको निगरानीमा अस्पतालमै राखेका थियौं । असोज २४ गते मोरङ अदालतले पूर्पक्षका लागि मोरङ कारागार पठाएपछि पनि उनी त्यहाँ अडिन सकेनन् । कर्णको उपचारमा खटिएका डाक्टरहरूले उनको स्वास्थ्य सामान्य रहेको भन्दै पटक–पटक डिस्चार्ज दिएका थिए । बरु डा. कर्ण अस्पताल घुमेरै बसे तर कारागार जान मानेनन् । स्वास्थ्यावस्था ठीकै हुँदा पनि उहाँले अस्पताल छोड्न मान्नुभएन, अस्पताल स्रोतले भन्यो । प्रेसर–सुगर कन्ट्रोल भएको भन्दै यसअघि पनि चिकित्सकहरूले उहाँलाई डिस्चार्ज दिनुभएको थियो । तर, उहाँले स्वास्थ्यलाभ नभएको बहानामा क्याबिन ओगट्नुयो ।

मोरङ कारागारका जेलर कृष्णहरि न्यौपानेका अनुसार कारागार ल्याएकै दिन डा. कर्ण बेहोस् भएका थिए । प्रहरीको निगरानीमा रहेर आफैं खर्च तिर्नेगरी असोज २६ गते कारागार प्रशासनले कागज गरिदिएको थियो । मोरङ कारागारमा स्वास्थ्यकर्मीको टोली पनि छ र औषधि पनि उपलब्ध हुन्छ । कर्ण आफैं पनि चिकित्सक भएका हुनाले आफ्नो इन्सुलिन आफैं लगाउन सक्थे । यस्तो अवस्थामा पनि डा. कर्णले कारागारको समय पनि अस्पतालमै बिताएका थिए । डा. कर्ण कोसी अस्पतालका पूर्वमेडिकल सुपरीटेन्डेन्ट पनि हुन् । कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेसु थिए । कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टबाट अवकाश लिएपछि उनले क्लिनिक सञ्चालन गर्दै आएका छन् । क्लिनिक सञ्चालनसँगै उनी ग्रिनक्रस अस्पतालमा पनि काम गर्छन् ।

प्रकाशित : माघ ७,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

राजधानीकै ठूला पसलमा तस्करीको सुन : काठमाडौं JCNEPAL_MEDIA

खुशी - विरेन्द्रक यात्रा कथाकाे आवरण सार्वजनिकीकरण कार्यक्रम सम्पन्न JCNEPAL_MEDIA

अवैध सालको गोलिया काठसहित सफारी गाडी बरामद JCNEPAL_MEDIA

उपप्रम एवं सहरी विकासमन्त्री सिंह र भारतका राजदूत नवीन श्रीवास्तव बीच शिष्टाचार भेटवार्ता JCNEPAL_MEDIA

साउनदेखि ड्राइभिङ लाईसेन्सको सट्टा राष्ट्रिय परिचय पत्र JCNEPAL_MEDIA