सहकारी विवादमा प्रधानमन्त्रीद्वारा गृहमन्त्रीको प्रतिरक्षा 

चैत्र ६,२०८० / जेसी नेपाल संवाददाता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी विवादमा गृहमन्त्री रवि लामिछानेलाई ‘क्लिन–चिट’ दिएका छन् । सहकारी पीडितले पोखरा प्रहरीमा उजुरी र आफूलाई ज्ञापनपत्र दिए पनि लामिछाने निर्दोष रहेको दाहालको भनाइ छ । 

जसको विषयमा पोखरामा ज्ञापनपत्र बुझ्नुभयो भनेर स्मरण गराएपछि दाहालले भने, ‘ज्ञापनपत्र उहाँहरूले ल्याउनुभयो । मैले बुझें । यो स्वाभाविक भयो । रवि लामिछानेको बारेमा जो चर्चा छ, त्यो कहींकतै प्रमाणित छैन । त्यस्तो आधार पनि छैन । एउटा उजुरी पोखरामा परेको छ । उजुरी परेकै आधारमा मन्त्री बन्न नहुने, मन्त्री छाड्नुपर्ने हुँदैन ।

उजुरी जसका बारेमा पनि जहाँ पनि पर्न सक्छ । सहकारी ठगीका विषयमा जसका बारेमा आम रूपमा यो मान्छे दोषी भने प्रश्न उठाइरहेका छन् । त्यही व्यक्ति गृहमन्त्रीको पदमा रहँदा यो विषयमा अनुसन्धान सही तरिकाले अगाडि बढ्छ र त्यसले निकाल्ने प्रतिवेदन सही हुन्छ भन्ने कुरामा अलि असहज हुँदैन भन्ने प्रश्नमा दाहालको भनाइ छ, ‘मैले अनुसन्धानकर्मीसँग बुझेको छु ।

त्यसअनुसार रविको दोष छ भनेर मलाई भनिएको छैन । यो विषय मैले संसद्मा पनि राख्छु । गृहमन्त्रीबाट लामिछाने हट्नुपर्छ भन्ने कांग्रेसको अभिव्यक्तिले नैतिकताको ठूलै खडेरी परेछ भन्ने आफूलाई महसुस भएको उनले बताए । ‘कांग्रेसले रवि लामिछाने आफूतिर आउने भए प्रधानमन्त्री बनाउन तयार हुने, आएन भनेपछि गृहमन्त्री छाड्नुपर्छ भन्ने के राजनीति भयो ? के नैतिकता भयो ?’ उनले प्रश्न गरे । सुन तस्करीमा पनि सबै प्रकरण सम्बन्धित निकायलाई ‘गो अहेड’ भनेको प्रधानमन्त्रीको भनाइ छ । ‘आयोगले बुझाएको प्रतिवेदन हेरेको छु । प्रतिवेदनअनुसार कारबाही हुन्छ । जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइन्छ । केही दिनपछि प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा छु । यसमा यो–त्यो भन्ने मेरो केही पनि छैन ।

दोषी कोही पनि नछुटुन्, कोही निर्दोष नपरुन् भन्ने कुरामा म प्रतिबद्ध छु । मैले सम्बन्धित निकायलाई ‘गो अहेड’ भनिसकेको छु’ उनले भने । फायर साइडकै पछिल्लो एपिसोडमा जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्रीले एउटा प्रसंगमा काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसका आधारमा पक्राउ गर्नुपर्छ भनेर गोप्य बैठक राखेको दाबी गरेका थिए । यस सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भने, ‘बालेनजीले चुनाव जित्दा बगैंचामा फुलेको एउटा फूल हो भनेको थिएँ । जतिबेला उहाँले सिंहदरबार जलाइदिन्छु जस्ता अभिव्यक्ति दिएपछि यो ठीक छैन भनेर हामीले छलफल गरेकै हो । तर पक्राउ गरिहाल्ने निर्णय गरेको होइन । के गर्नुपर्छ भनेर छलफल भएकै हो ।

काठमाडौं महानगरको मेयर जस्तो मान्छेले सिंहदरबार जलाइदिन्छु भन्नु गलत भएको भन्दै दाहालले भने, ‘तर सीके राउतजी अहिले अर्कै छोरमा हुनुहुन्छ । उहाँले बालेन र प्रचण्डका बीचमा कसरी झगडा पारौं भनेर सोच्नुभयो होला । मैले बालेनलाई अहिले पनि लोकतान्त्रिक बगैंचाको फूल मानेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा लैङ्गिक उत्तरदायी र समावेशी सिकाइ प्रवर्द्धन गर्न जापानको सहयोग : JCNEPAL MEDIA

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश : JCNEPAL MEDIA

आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दै : JCNEPAL MEDIA

होटल तथा रेस्टुरेन्टमा यौनजन्य गतिविधि, २५ जना पक्राउ : JCNEPAL MEDIA

धनुषा जिल्ला अदालतबाट आफ्नै श्रीमतिमाथि बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर, ६ महिना जेल, १ लाख जरिवाना : JCNEPAL MEDIA

गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने, छानबिन समिति पनि नबन्ने , तीन दलको सहमति : JCNEPAL MEDIA