इलाममा ६०, बझाङमा ४९ प्रतिशत मतदान : उप-निर्वाचन

बैशाख १६,२०८०/ जेसी नेपाल संवाददाता

इलाम, बझाङ —इलाम–२ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । उक्त क्षेत्रमा कुल १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार २ सय ८७ जना मतदानमा सहभागी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । प्रदेशसभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपनिर्वाचनमा भने ४९.१२ प्रतिशत मतदान भएको छ । 

इलाम–२ का मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार ३५ हजार १ सय ३५ पुरुष र ३४ हजार १ सय ५० महिला र २ जना अन्य लिंगका मतदाता मतदानमा सहभागी भएका थिए । यहाँ ७९ मतदानस्थलमा १ सय ४९ केन्द्र तोकिएको थियो । शनिबार अबेर रातिसम्म मतपेटिका संकलन भइरहेको छ । पश्चिमी क्षेत्रको फाकफोकथुम, दक्षिणतिरको चुलाचुली र माङ्सेबुङलगायत विकट क्षेत्रबाट मध्यरातसम्म मतपेटिका सदरमुकाम पुर्‍याउने योजना प्रशासनको छ । सबै केन्द्रबाट मतपेटिका संकलन र सर्वदलीय बैठकपछि आइतबार बिहानदेखि मात्रै गणना सुरु गरिने घिमिरेले बताए ।

एमाले नेता तथा सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २७ मा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । पूर्वसभामुख तथा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङ उक्त क्षेत्रमा अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका थिए । एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसबाट डम्बर खड्का उठेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूसहित १२ दल तथा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम गरी ७ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचन २०७९ मंसिर ४ मा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए ।

नेम्वाङले ३० हजार २० मत पाएका थिए । माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनबाट उठेका खड्काले १९ हजार ६ मत पाएका थिए । समानुपातिकतर्फ एमालेले ३० हजार ६ सय ८१ मत पाउँदा कांग्रेसले २४ हजार ६ सय ८६ मत पाएको थियो । यस पटक एमाले र माओवादीले गठबन्धन गरेका छन् भने कांग्रेस एक्लै प्रतिस्पर्धामा छ । यो निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको वडा १० बाहेक सबै, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा गरी ६ वटा पालिकाका ४२ वडा पर्छन् । हेलिकोप्टरबाट मतपेटिका ल्याएपछि गणनाको तयारी बझाङ १ (१) को प्रदेशसभा सदस्य उपनिर्वाचनमा शनिबार साँझसम्म संकलित विवरणअनुसार ३० हजार ३ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीले बताए । यो क्षेत्रमा ६१ हजार ७ सय ४८ जना मतदाता थिए । ‘मतदान अधिकृतहरू मतपेटिका ढुवानीका लागि बाटोमा भएको र केही ठाउँमा टेलिफोन सम्पर्क हुन नसकेका कारण सम्पूर्ण विवरण आइतबारसम्म मात्रै आउँछ,’ उनले भने । ७४ वटा मतदानस्थलमा रहेका ९३ केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको छ ।

मतदान व्यवस्थित र सुरक्षित बनाउन१५ सय जना बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । शनिबार साँझसम्म साइपाल गाउँपालिकाबाहेकका अन्य ९० वटा केन्द्रका मतपेटिका सदरमुकाममा संकलन गरिसकिएको छ । साइपालको काँडा, धुली र याराङकुरिङ डाँडा केन्द्रको मतपेटिका आइतबार बिहान हेलिकोप्टरमार्फत ढुवानी गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबै मतपेटिका सदरमुकाम पुगिसकेपछि आइतबार दिउँसोबाट गणना सुरु हुने कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर सिंहले बताए । ‘गणना सुरु भएपछि ३० घण्टाभित्र नतिजा प्रकाशन गर्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘एकै पटक दुई समूहले गणना गर्ने गरी कर्मचारी तयारी अवस्थामा राखेका छौं ।’ उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । यहाँ कांग्रेसबाट सिंहका छोरा अभिषेक उम्मेदवार छन् भने एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढा, एकीकृत समाजवादीका दिलबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने निकटतम प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

२०४८ पछि यो क्षेत्रमा कांग्रेसका तीन र एमालेका उम्मेदवारले चार पटक जितेका थिए ।

प्रकाशित : बैशाख १६,२०८०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरकाे भ्रमरपुरा चाैक स्थित चिया पसलको आडमा यौनधन्दा चलाइरहेको अबस्थामा पाँच किशोरी पक्राउ JCNEPAL_MEDIA

भ्रष्टाचार मुद्दामा कटहरियाका मेयर उपमेयरसहित ११ जनाले पाए सफाई JCNEPAL_MEDIA

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन JCNEPAL_MEDIA

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

सीके राउतको सम्वन्ध विच्छेदमा उठ्यो चरित्रको प्रश्न : JCNEPAL_MEDIA

धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA