बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री रमेश लेखक

भाद्र २३,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

इन्टरपोल स्थापनाको शताव्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा गृहमन्त्री लेखकले समारोहलाई दिप प्रज्वलन गरी विधिवत रूपमा उद्‍घाटन गरी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘CID Magazine’ को विमोचन गर्नुभयो । सो अवसरमा उहाँले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीद्वारा लिखित ‘नेपाल प्रहरी’ गीत सार्वजनिक समेत गर्नुभयो ।

गृहमन्त्री लेखकले दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने ग्लोबल कलेज अफ म्यानेजमेन्टका रूचि खरेल, द्वितीय हुने जेभियर एकेडेमीका प्रत्युश महर्जन र तृतीय हुने विश्वनिकेतन माविका निर्मल विक तथा उक्त प्रतियोगिताका मुल्याङकन कर्ताहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

साथै इन्टरपोलको १००औं बार्षिकोत्सवको अवसरमा इन्टरपोल महासचिवालयद्वारा सन् २०२३ मा आयोजित Global Video Contest प्रतियोगितामा नेपाल प्रहरीद्वारा निर्माण गरिएको “Let’s Save the Planet” विषयक भिडियो सर्वोत्कृष्ट घोषित भएको हुँदा उक्त भिडियो निर्माण गर्नुहुने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरूङ श्रेष्ठलाई समेत उहाँले सम्मानपत्र प्रदान गर्नुभयो ।

गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताउनुहुँदै यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञताहरू, असल अभ्यास एवम् आपसी सूचना आदान प्रदान हुनुपर्ने बताउनुभयो । समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानून कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको उल्लेख गर्नुहुँदै यस कार्यक्रमले कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहयोगको संयुक्त प्रतिबद्धता प्रतिबिम्बित गरेको बताउनुभयो ।

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा गरेको समन्वय र सहयोग उल्लेखनीय रहेको चर्चा गर्दै अपराधको चुनौतिहरूलाई सम्बोधन गर्न आगामी दिनमा सुरक्षा निकायलाई थप मजबुद बनाउँदै लैजानेमा गृहमन्त्रालय क्रियाशील रहेको बताउनुभयो । सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका अपराध नियन्त्रण गर्न एवम् शान्ति सुव्यवस्था बलियो बनाउन कानून कार्यान्वयन गर्ने निकायहरूबीच संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नुहुँदै संगठित अपराध, साइबर अपराध, आतंकवाद, आर्थिक अपराध लगायतका अपराध विरुद्ध लड्न एवम् त्यसता अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो ।

कानून कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य, स्रोत र रणनीतिहरू आदान प्रदान गर्दै जटिल अपराधहरू र अन्य सुरक्षा चुनौतिलाई प्रभावकारी रूपमा सामना गर्न सकिने उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त तथा कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त समारोहमा अन्तर्राष्ट्रिय समन्वयमा प्रहरीको भूमिका र महत्वका बारेमा तयार पारिएको डकुमेन्ट्री भिडियोसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडाल, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायतको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो

स्राेत : नेपाल प्रहरीकाे फेशबुक बाट

प्रकाशित : भाद्र २३,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

नँया नेतृत्व चयनका लागि जउवासंघकाे चुनाव हुँदै : JCNEPAL_MEDIA

सीके राउतको सम्वन्ध विच्छेदमा उठ्यो चरित्रको प्रश्न : JCNEPAL_MEDIA

धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA

धनुषा जिल्ला प्रहरी प्रमुख द्वारा डीजे बजाउने व्यवसायीहरूलाई समयकाे पाबन्दी JCNEPAL_MEDIA

मतदाता कार्डमा तस्वीर र नाम फरक भेटाउदा जउबासंघ निर्वाचन शंकाकाे घेरामा JCNEPAL_MEDIA

वाडा अध्यक्षले गरे जीउँदै महिलाको मृत्यु प्रमाणपत्रकाे लागि सिफारिस JCNEPAL_MEDIA