NPL मा १५ देशका ४० विदेशी खेलाडी, को कुन टिमबाट खेल्दै छन् ? JCNEPAL MEDIA

मंशिर १७,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : पछिल्लो केही वर्षयता नेपालमा क्रिकेट माहोल हेर्ने हो भने साँच्चै अद्भुत छ । लगातार महत्वपूर्ण प्रतियोगिता खेल्नु र खेलाडीले ऐतिहासिक उपलब्धि हासिल गर्दा नेपालमा क्रिकेट माहोल बढ्दै गएको हो । नेपाल प्रिमियर लिग (एनपिएल) का कारण क्रिकेट माहोल थप उचाइमा पुगेको छ ।

भारतका शिखर धवन, न्यूजिल्याण्डका मार्टिन गुप्टिल, इंग्ल्याण्डका रवि बोपारालगायत स्टारले खेल्ने भएकाले पनि एनपिएलको चर्चा चुलीमा छ । पहिलो संस्करणको एनपिएलमा विभिन्न १५ देशका ४० जना विदेशी खेलाडी अनुबन्धित छन् । यसैबीच, आज यस सामग्रीमा डेब्यू सिजनको एनपिएलमा कुन–कुन विदेशी खेलाडी खेल्दै छन् भन्ने विषयमा चर्चा गरिएको छ । पहिलो संस्करणको एनपिएलमा सर्वाधिक ठूलो विदेशी नाम हो, शिखर धवन ।

विश्व क्रिकेटमा राम्रो छाप छोडेका उनी एनपिएलमा कर्णाली याक्सको जर्सीमा देखिने छन् । आइपिएलदेखि अन्तर्राष्ट्रिय क्रिकेटको लामो अनुभव हासिल गरेका धवनको आगमनले एनपिएलको चर्चा भारतमा पनि छ । सोमपाल कामी ‘मार्की प्लेयर’ रहेको कर्णालीमा अरू विदेशी खेलाडीको रूपमा वेस्ट इण्डिजका चाडविक वाल्टन, हङकङका बाबर हयात र ओमानका जीशान मक्सुद रहेका छन् । यसअघि पाकिस्तानी अलराउन्डर हुसेन तलातले पनि एनपिएल खेल्ने पक्का भएको थियो । अहिले भने क्यानको सूचीमा उनको नाम छैन ।

यस्तै, एनपिएलमा देखिने अर्को ठूलो नाम हो, मार्टिन गुप्टिल । विराटनगर किंग्सबाट एनपिएल खेल्न लागेका न्यूजिल्याण्डका यी स्टारले आइपिएल, बिबिएल, पिएसएललगायत प्रतिष्ठित लिग खेलिसकेका छन् । गुप्टिल आक्रामक ब्याटिङका लागि परिचित छन् । पहिलोपटक नेपाल आएका मार्टिनको खेल हेर्न कयौँ समर्थक व्यग्र प्रतीक्षामा छन् । स्टार स्पिनर सन्दीप लामिछाने ‘मार्की प्लेयर’ रहेको विराटनगरले विदेशी खेलाडीको रूपमा गुप्टिलसहित ओमानका अकिब इलियास, क्यानडाका निकोलस किर्टन, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मत आलमलाई अनुबन्ध गरेको छ ।

त्यस्तै, अर्को एनपिएल टिम जनकपुर बोल्ट्समा पनि चर्चित विदेशी अनुहार छन् । जनकपुरले विदेशी स्टारको रूपमा न्यूजिल्याण्डका अलराउन्डर जिमी नीशमलाई अनुबन्ध गरेको छ । उनले पनि आइपिएल, पिएसएल, बिबिएलसहित करिब एक दर्जन फ्रेन्चाइज लिग खेलिसकेका छन् । आसिफ शेख ‘मार्की प्लेयर’ रहेको जनकपुरले विदेशी खेलाडीको रूपमा निशमसहित पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकाका लाहिरू मिलान्था, इंग्ल्याण्डका बेन माइक, क्यानडाका हर्ष ठाकर र अमेरिकाका जोशुआ ट्रम्प रहेका छन् । यस्तै, नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल ‘मार्की प्लेयर’ रहेको लुम्बिनी लायन्सले पाँचजना विदेशी खेलाडी अनुबन्ध गरेको छ । उसले अस्ट्रेलियन स्टार अलराउन्डर बेन कटिङसहित अमेरिकाका उन्मुक्त चन्द, क्यानडाका शादबिन जाफर, इंग्ल्याण्डका टम मूर्स र वेस्ट इण्डिजका रेमन सिमन्ड्सलाई विदेशी कोटाबाट अनुबन्ध गरेको हो ।

त्यस्तै, पहिलो सिजनको एनपिएलमा काठमाडौं गुर्खाजको टिममा पनि पाँचजना विदेशी खेलाडी हुने छन् । उसले विदेशी कोटाबाट इंग्ल्याण्डका स्टेफन इस्किनाजी, नेथन सोउटर र ड्यान डौथवेट तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेहार्ड इरासमसलाई भित्र्याएको हो । स्टेफन इस्किनाजी काठमाडौंमा करण केसी ‘मार्की प्लेयर’ रहेका छन् । यस्तै, सुदूरपश्चिमले चारजना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । उसले न्यूजिल्याण्डका स्कट कुगेलेइन, स्कटल्याण्डका ब्रान्डन म्याकमुलेन, इंग्ल्याण्डका सेफ अलि जेब र यूएईका रोहन मुस्तफालाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । सुदूरपश्चिमका स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी ‘मार्की प्लेयर’ रहेका छन् । त्यस्तै, कुशल मल्ल ‘मार्की प्लेयर’ रहेको चितवन राइनोजले विदेशी कोटामा चर्चित खेलाडीलाई अनुबन्ध गरेको छ ।

उसले इंग्ल्याण्डका अनुभवी अलराउन्डर रवि बोपारा, पाकिस्तानका सोहल तनवीर, नामिबियाका जाननिकोल लोफ्टी इटन, इंग्ल्याण्डका ल्यूक मार्टिन बेनकेन्स्टाइन र अफगानिस्तानका हसन इसाखिललाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको हो । एनपिएलको अर्को चर्चित टिम पोखरा एभेन्जर्सले विदेशी कोटामा पाँचजना खेलाडीलाई अनुबन्ध गरेको छ । उसले विदेशी खेलाडीको रूपमा अमेरिकाका आन्द्रेस गौस, नेदरल्याण्ड्सका बास डे लिडे, इंग्ल्याण्डका म्याट क्रिचली र जेन मलिक, वेस्ट इण्डिजका रेमन राइफर र स्कटल्याण्डका माइकल लिस्कलाई भित्र्याएको हो । एनपिएलका लागि विदेशी स्टारको नेपाल आगमनले नेपालमा अहिले क्रिकेट ‘महाकुम्भ’ चलिरहेको महसुस भइरहेको छ । पहिलो संस्करणको चर्चा हेर्दा आउँदो वर्ष थप विदेशी स्टारले एनपिएल खेल्ने सम्भावना बढेको छ ।

शनिबारदेखि सुरु हुने बहुप्रतिक्षित एनपिएलका लागि आठवटै टिम अन्तिम तयारीमा छन् । विदेशी खेलाडी पनि लगभग नेपाल आइपुगेका छन् ।

प्रकाशित : मंशिर १७,२०८१ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित JCNEPAL MEDIA

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ अविरल घिमिरे सम्मानित : JCNEPAL MEDIA

एनपिएल उद्घाटन खेलमा आज विराटनगर किङ्स र जनकपुर बोट्ल्स भिडदै -JCNEPAL MEDIA

भारतका चर्चित क्रिकेटर शिखर धवन एनपिएल खेल्न आइपुगे -JCNEPAL MEDIA

कांग्रेस - कम्युनिस्टको कारण देश धाराशाही हुदै : अध्यक्ष यादव -JCNEPAL_MEDIA

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल सेवानिवृत्त भए -JCNEPAL_MEDIA